
बङगाईगाउँ, मे ३: भर्खरै उच्च माध्यामिक (HSLC) र उच्चतर माध्यमिक (HS) परीक्षा उत्तीर्ण गरी करियरको महत्त्वपूर्ण दोबाटोमा उभिएका, तथा आगामी परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरूलाई सही बाटो देखाउने उत्कृष्ट उद्देश्यका साथ अखिल असम गोर्खा छात्र संघ, बङगाईगाउँ जिल्ला समितिले एक बृहत् ‘विद्यार्थी अन्तरक्रिया तथा मार्गदर्शन कार्यक्रम’ सम्पन्न गरेको छ। विद्यार्थीहरूको शैक्षिक यात्रा र करियर छनोटलाई सहज र प्रभावकारी बनाउन आयोजित यस कार्यक्रमले सहभागीहरूमाझ नयाँ आशा, ऊर्जा र भविष्यप्रतिको स्पष्ट दृष्टिकोण निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।
कार्यक्रमको सुरुवात आग्सु बङगाईगाउँ जिल्ला समितिका सभापति प्रभाकर चेत्रीको न्यानो तथा ऊर्जाशील स्वागत मन्तव्यबाट भएको थियो, जहाँ उहाँले विद्यार्थीहरूको जीवनमा यस्ता मार्गदर्शनको महत्त्वबारे प्रकाश पार्नुभएको थियो। यसैगरी, कार्यक्रममा जिल्ला समितिका मुख्य उपदेष्टा किशोर शर्माको विशेष अतिथिको रूपमा गरिमामय उपस्थिति रहेको थियो भने जिल्ला समितिका सक्रिय सदस्यहरूको अथक मेहेनत र कुशल व्यवस्थापनले कार्यक्रम अत्यन्तै व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन भएको थियो।
कलिला विद्यार्थीहरूको मनमा आफ्नो भविष्य र उच्च शिक्षालाई लिएर उब्जने अनेकौं प्रश्न, कौतुहलता र दुविधाहरूलाई सम्बोधन गर्न कार्यक्रममा विशिष्ट विशेषज्ञहरूलाई आमन्त्रण गरिएको थियो। जसमा कुनाल सुब्बा DEEO (जिल्ला प्राथमिक शिक्षा कार्यालय) बङगाईगाउँका निरीक्षण लेखापरीक्षक र रोशन गुरुङ वनस्पति शास्त्र (Botany) का सहायक प्राध्यापक प्रमुख स्रोत व्यक्तिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँहरूले विद्यार्थीहरूसँग अत्यन्तै मित्रवत् रूपमा प्रत्यक्ष अन्तरक्रिया गर्दै विज्ञान, वाणिज्य, र कला जस्ता विभिन्न शैक्षिक धारहरूको छनोट, त्यसभित्र लुकेका सम्भावनाहरू, र वर्तमान प्रतिस्पर्धात्मक युगमा उपलब्ध नयाँ करियर अवसरहरूबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो। विशेषज्ञहरूको सरल, स्पष्ट र व्यावहारिक उत्तरले विद्यार्थीहरूको अन्योलता मात्र चिरेन, उनीहरूमा आफ्नो लक्ष्यप्रति ठूलो उत्साह र आत्मविश्वास समेत थपेको थियो। जिल्ला समिति अन्तर्गत
सबै आञ्चलिक समितिहरूको उल्लेखनीय संयुक्त प्रयास र समन्वयले गर्दा यो कार्यक्रम यति धेरै सफल हुन सकेको हो। दिउँसो ३:०० बजेसम्म निरन्तर सञ्चालित यस ज्ञानवर्धक कार्यक्रममा विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नभई आफ्नो लक्ष्यप्रति अडिग रहन, जीवनमा आउने विविध चुनौतीहरूको निडर भएर सामना गर्न र कडा परिश्रममार्फत सफलताको शिखर चुम्न गहिरो प्रेरणा दिइयो।
अन्तमा, आग्सु किशन बजार आञ्चलिक समितिकी मूल-सचिव धनमाया चेत्रीले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण अतिथिगण, स्रोत व्यक्तिहरू, उत्साही विद्यार्थीहरू तथा स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक रूपमा सफल समापन घोषणा गर्नुभयो। आग्सु ले आयोजना गरेको यस्ता रचनात्मक र विद्यार्थी-केन्द्रित कार्यक्रमहरूले आउँदा दिनहरूमा पनि विद्यार्थीहरूको शैक्षिक उन्नति र समग्र गोर्खा समाजको उज्यालो भविष्य निर्माणमा एउटा बलियो कोसेढुङ्गाको रूपमा काम गर्ने निश्चित छ।
प्रतिवेदक : योगेश गिरि-सूचना एवं प्रविधि सचिव, बङगाईगाउँ जिल्ला समिति ।