All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #29
•
May 7, 2026

पेंग्रीमा आग्सुद्वारा उत्कृष्ट विद्यार्थीहरूको भव्य अभिनन्दन, ८० भन्दा बढी छात्र–छात्रा सम्मानित

📅 May 7, 2026
✍️ AAGSU
🕒 12:06 AM

तिनसुकिया, १ मे २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समिति अन्तर्गत पेंग्री आञ्चलिक समितिले उच्च तथा उच्चतर माध्यमिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष अभिनन्दन गर्दै एक भव्य कार्यक्रम सम्पन्न गरेको छ। पेंग्री क्षेत्रका विभिन्न जाति तथा जनगोष्ठीका विद्यार्थीहरूलाई समेटेर आयोजना गरिएको उक्त कार्यक्रम १ नं. टकौपथार रङ्गमञ्चमा सम्पन्न भएको हो।

कार्यक्रममा यस वर्षको परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भएका करिब ८० भन्दा बढी छात्र–छात्राहरूलाई खादा, प्रशंसा पत्र तथा स्मृति चिन्ह प्रदान गरी सम्मान गरिएको थियो। विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताको कदर गर्दै उनीहरूलाई उज्ज्वल भविष्यका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

अभिनन्दन अनुष्ठानमा आग्सु तिनसुकिया जिल्ला समितिका मूल–सचिव शंकर जैसी प्रमुख रूपमा उपस्थित थिए भने उप–सभापति सुमन छेत्री र मिलन शर्मा, सचिव सुभास तामाङ, शिक्षा सचिव खेम छेत्री, सह–शिक्षा सचिव राहुल राई तथा सह–सांस्कृतिक सचिव बिष्णु शर्मा लगायतको सक्रिय सहभागिता रहेको थियो। त्यसैगरी पेंग्री आञ्चलिक समितिका सभापति राम मगर र मूल–सचिव गौतम उपाध्यायले कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा बोल्दै मूल–सचिव शंकर जैसीले विद्यार्थीहरूलाई शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै निरन्तर अध्ययन र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे। उनले आग्सुले सदैव विद्यार्थीहरूको हितमा काम गर्दै आएको र आगामी दिनहरूमा पनि यस्ता प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उप–सभापति सुमन छेत्री र मिलन शर्माले पनि विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै उनीहरूलाई उच्च लक्ष्य निर्धारण गरी अगाडि बढ्न प्रेरित गरे।

स्थानीय दल–संगठनका प्रतिनिधिहरू, पूर्व आग्सु कर्मीहरू तथा क्षेत्रका बुद्धिजीवीहरूको बाक्लो उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो। वक्ताहरूले विद्यार्थीहरूको सफलतामा अभिभावक र शिक्षकहरूको योगदानलाई समेत उच्च मूल्यांकन गर्दै समाजका सबै पक्ष मिलेर शिक्षाको स्तर उकास्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको अन्त्यमा आञ्चलिक सभापति राम मगरले सबै अतिथि, अभिभावक तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा अझ व्यापक रूपमा यस्ता कार्यक्रम आयोजना गरिने जानकारी दिए। उनले पेंग्री क्षेत्रका विद्यार्थीहरूले प्राप्त गरेको सफलता सम्पूर्ण क्षेत्रकै गौरव भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे।

यस प्रकारको सम्मान कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थप्नुका साथै शिक्षाप्रति सकारात्मक वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिवेदक: जतन प्रधान-सांगठनिक सचिव(IT Incharge), तिनसुकिया जिल्ला समिति।

📤 Share this story
Scroll to Top