
रौता, १० मईः गत ३ मई २०२६ का दिन विशिष्ट समाजसेवी, बुद्धिजीवी तथा समाजका अभिभावक स्वरूप व्यक्तित्व श्रीमान् दिल्लीराम ढकालज्यूको आकस्मिक निधनको दुःखद खबरले सम्पूर्ण क्षेत्र नै स्तब्ध बनेको छ। उहाँको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै अखिल असम गोर्खा छात्र संघ (आग्सु) रौता आञ्चलिक समितिको एक प्रतिनिधिमूलक टोलीले आज स्वर्गीय ढकालज्यूको निवासमा पुगेर शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुका साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
आग्सुको टोलीले स्वर्गीय दिल्लीराम ढकालज्यू समाजप्रति समर्पित, सहयोगी तथा दूरदर्शी व्यक्तित्व भएको उल्लेख गर्दै उहाँले सामाजिक एकता, शिक्षा तथा सामुदायिक विकासका क्षेत्रमा पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहने बताएको छ। टोलीका सदस्यहरूले उहाँको निधनले समाजले एक असल मार्गदर्शक तथा अभिभावक गुमाएको महसुस भएको बताएका थिए।
शोकसमवेदना व्यक्त गर्न पुगेको टोलीमा रौता आञ्चलिक आग्सुका उप–सभापति श्री राजेश्वर घिमिरे, मूल–सचिव श्री खायाम नेवार, पुर्व सभापति श्री राजीव शर्मा, पुर्व मूल–सचिव तथा वर्तमान उप–सभापति श्री मोहन छेत्री, प्रचार सचिव श्री सेवक शर्मा तथा उदालगुरी जिल्ला समितिका उप–सभापति श्री सञ्जीव खतिवडाज्यूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा टोलीले स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना व्यक्त गरेको थियो। आग्सु रौता आञ्चलिक समितिले समाजमा स्वर्गीय दिल्लीराम ढकालज्यूले पुर्याउनुभएको अतुलनीय योगदान सधैं प्रेरणाको स्रोत बनी रहने विश्वास समेत व्यक्त गरेको छ।
प्रतिवेदक: बिकास पाण्डे- सभापति, रौता आञ्चलिक समिति ।