
तेङाखात, १३ मईः अखिल असम गोर्खा छात्र संघ (आग्सु) तेङाखात आञ्चलिक समितिको अन्तिम कार्यनिर्वाह सभा आज भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। सभामा संगठनका विभिन्न महत्वपूर्ण विषयहरूमाथि गम्भीर छलफल गर्दै आगामी कार्यक्रमहरू सम्बन्धी महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।
सभाको सञ्चालन आग्सु तेङाखात आञ्चलिक समितिका सभापति श्रीमान् कमल शर्मा ज्युले गर्नुभएको थियो भने सभामा आग्सु डिब्रुगढ जिल्ला समितिका संगठनिक सचिव श्रीमान् प्रबिन क्षेत्री, प्रचार सचिव श्रीमान् भरत नेवार तथा कार्यनिर्वाह सदस्य श्रीमान् अमिर थापा ज्युको विशेष उपस्थिति रहेको थियो। सभाको उद्देश्य व्याख्या आञ्चलिक समितिका मूल–सचिव श्रीमान् राजकुमार क्षेत्री ज्युले गर्नुभएको थियो।
सभामा सर्वप्रथम संगठनको भावी कार्ययोजना, विद्यार्थीमुखी कार्यक्रम तथा संगठन सुदृढीकरण सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो। छलफलको क्रममा आगामी अंग्रेजी २४ मई २०२६ का दिन HSLC तथा HS परीक्षामा उत्कृष्ट सफलता हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा सम्बर्धना गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको छ। उक्त कार्यक्रममार्फत क्षेत्रभित्रका मेधावी विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै शैक्षिक वातावरणलाई अझ मजबुत बनाउने उद्देश्य रहेको बताइएको छ।
त्यसैगरी सभामा अर्को महत्वपूर्ण विषयका रूपमा आञ्चलिक समितिका सभापति श्रीमान् कमल शर्मा ज्युले पेश गर्नुभएको राजीनामामाथि गम्भीर छलफल गरिएको थियो। सभामा उपस्थित सम्पूर्ण सदस्यहरूले उहाँको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै राजीनामा अस्वीकार गरेका थिए। सदस्यहरूले संगठनलाई मजबुत बनाउन उहाँको नेतृत्व अझ आवश्यक रहेको धारणा राख्दै राजीनामा फिर्ता लिन अनुरोध गरेका थिए। सभामा उपस्थित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको आग्रह र भावनाको सम्मान गर्दै श्रीमान् कमल शर्मा ज्युले आफ्नो निर्णय फिर्ता लिनुभएको तथा आगामी दिनहरूमा पुनः आग्सु तेङाखात आञ्चलिक समितिको सभापतिका रूपमा आफ्नो दायित्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी प्राप्त भएको छ।
सभाको अन्त्य संगठनको एकता, विद्यार्थीहित तथा समाजिक उत्तरदायित्वलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धतासहित सम्पन्न भएको जनाइएको छ।
प्रतिवेदक: कमल शर्मा- सभापति, तेङाखात आञ्चलिक समिति।