All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #32
May 28, 2026

ओराङमा आग्सुद्वारा भव्य विद्यार्थी अभिनन्दन समारोह सम्पन्न, ५२ कृतिमान विद्यार्थी सम्मानित

📅 May 28, 2026
✍️ AAGSU
🕒 12:06 AM

ओराङ, २५ मेः अखिल असम गोर्खा छात्र संघ (आग्सु) ओराङ आञ्चलिक समितिको आयोजनामा आज ओराङ समुवागाउँस्थित गोर्खा भवनमा एक भव्य तथा गरिमामय अभिनन्दन सभा सम्पन्न भएको छ। हरेक वर्षझैँ यस वर्ष पनि हाईस्कूल शिक्षान्त तथा उच्चतर माध्यमिक अन्तिम परीक्षामा उत्कृष्ट सफलता हासिल गर्ने क्षेत्रका गोर्खा समुदायका विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, समाजसेवी तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहको प्रारम्भ स्वागत मन्तव्यसँगै गरिएको थियो भने सम्पूर्ण वातावरण विद्यार्थीहरूको उत्साह र अभिभावकहरूको गर्वले भरिएको देखिन्थ्यो। कार्यक्रममा उदालगुरी जिल्ला तथा ओराङ आञ्चलिक समितिका विभिन्न पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो। विद्यार्थीहरूको उज्ज्वल भविष्यप्रति आशा व्यक्त गर्दै वक्ताहरूले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको धारणा व्यक्त गरेका थिए।

कार्यक्रमका मुख्य वक्ता उदालगुरी जिल्ला नेपाली साहित्य सभाका उपसभापति मोहन राउत ले आफ्नो सम्बोधनमा विद्यार्थीहरूलाई केवल परीक्षा उत्तीर्णमा सीमित नरही समाज, भाषा, संस्कृति र नैतिक मूल्यमान्यताको संरक्षणतर्फ पनि अग्रसर हुनुपर्ने बताउनुभयो। उहाँले वर्तमान प्रतिस्पर्धात्मक युगमा निरन्तर मेहनत, अनुशासन र आत्मविश्वासले मात्र सफलता प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई समाजको भविष्यका कर्णधारको रूपमा चित्रण गर्दै अभिभावक तथा शिक्षकहरूको योगदानको पनि प्रशंसा गर्नुभयो।

यस अवसरमा ओराङ आञ्चलिक गोर्खा छात्र संघले विगतदेखि सञ्चालन गर्दै आएको “स्वर्गीय द्रोण प्रसाद शर्मा आदर्श विद्यार्थी पुरस्कार” टिना शर्मालाई प्रदान गरिएको थियो भने “स्वर्गीय युवराज उपाध्याय आदर्श विद्यार्थी पुरस्कार” चेतन शर्माले प्राप्त गरेका थिए। दुवै पुरस्कारले कार्यक्रममा विशेष आकर्षण थपेको थियो। पुरस्कार प्राप्त विद्यार्थीहरूलाई सम्मानपत्र, फुलाम गामोछा तथा विशेष अभिनन्दनसहित सम्मान गरिएको थियो।

कार्यक्रममा उपस्थित वक्ताहरूले विद्यार्थीहरूलाई समाज र राष्ट्रप्रति उत्तरदायी नागरिक बन्न आग्रह गर्दै उच्च शिक्षा तथा प्रतिस्पर्धात्मक क्षेत्रमा अघि बढ्न प्रेरणा दिएका थिए। उदालगुरी जिल्ला समितिका प्रचार सम्पादक नव शर्मा ले विद्यार्थीहरूलाई निरन्तर अध्ययनमा केन्द्रित रहँदै आफ्नो लक्ष्यतर्फ अघि बढ्न सुझाव दिनुभयो। त्यसैगरी ओराङ भिजिसिडिसीका अध्यक्ष बेणुधर अधिकारी तथा समाजसेवी मोहनलाल चापागाईं ले पनि शुभकामना मन्तव्य राख्दै समाजको प्रगतिको आधार शिक्षित युवा शक्ति नै भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा बृहत्तर ओराङ क्षेत्रका जम्मा ५२ जना कृतिमान विद्यार्थीहरूलाई अभिनन्दन गरिएको आयोजक समितिले जनाएको छ। सम्मानित विद्यार्थीहरूको अनुहारमा देखिएको उत्साह र अभिभावकहरूको गर्वले कार्यक्रमलाई अझ भावुक र प्रेरणादायी बनाएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक तथा प्रेरणादायी क्षणहरूले उपस्थित सबैको ध्यान आकर्षित गरेको थियो।

आग्सु ओराङ आञ्चलिक समितिकी सभापति तनुश्री शर्मा को सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन उदालगुरी जिल्ला गोर्खा विद्यार्थी संघका सचिव लय प्रसाद उपाध्याय ले गर्नुभएको थियो। व्यवस्थित सञ्चालन, उल्लेखनीय सहभागिता तथा उत्साहजनक वातावरणबीच सम्पन्न कार्यक्रमलाई सहभागीहरूले सफल र उपलब्धिमूलक कार्यक्रमको रूपमा मूल्यांकन गरेका छन्।

प्रतिवेदक: तनुश्री शर्मा- सभापति, ओराङ आञ्चलिक समिति ।

📤 Share this story
Scroll to Top