
माजुली २७ मे२०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), माजुली जिल्ला समितिको चौथो द्वी-वार्षिक प्रतिनिधि सभा तथा विशेष अभिनन्दन कार्यक्रम भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम संगठनको आगामी कार्यदिशा तय गर्नुका साथै विद्यार्थी तथा समाज हितका विषयहरूलाई थप सशक्त रूपमा अगाडि बढाउने उद्देश्यले आयोजना गरिएको थियो।
प्रतिनिधि सभामार्फत नयाँ जिल्ला समितिको गठन गर्दै सभापतिमा श्री दीपक छेत्री तथा मूल सचिवमा श्री गोपाल राई चयन भएका छन्। साथै अन्य पदाधिकारीहरूको समेत चयन गरी एक सशक्त तथा दर्बिलो समिति गठन गरिएको जानकारी प्राप्त भएको छ।
उक्त कार्यक्रममा जिल्ला अन्तर्गत शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै अव्वल स्थान प्राप्त गरेका गोर्खा विद्यार्थीहरूलाई विशेष रूपमा अभिनन्दन गरिएको थियो। विद्यार्थीहरूको मेहनत, लगनशीलता तथा उत्कृष्ट उपलब्धिको कदर गर्दै उनीहरूलाई सम्मान तथा शुभकामना व्यक्त गरिएको आयोजक समितिले जनाएको छ।
कार्यक्रममा पर्यवेक्षकको रूपमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिको तर्फबाट सचिवद्वय श्री अजय कुमार आलेज्यू, श्री सुरज थापाज्यू तथा वित्त सचिव श्री सन्तोष छेत्रीज्यूको विशेष उपस्थिति रहेको थियो। उहाँहरूले संगठनलाई थप सुदृढ, प्रभावकारी तथा विद्यार्थीमुखी बनाउने विषयमा महत्वपूर्ण सुझावहरू प्रदान गर्नुभएको थियो।
सभामा वक्ताहरूले विद्यार्थी संगठन केवल संगठनात्मक गतिविधिमा सीमित नरही समाज परिवर्तन, शैक्षिक चेतना अभिवृद्धि तथा जातीय हितका विषयहरूमा अग्रसर हुनुपर्नेमा जोड दिएका थिए। साथै नयाँ नेतृत्वले विद्यार्थीहरूको हक, अधिकार र शैक्षिक उन्नयनका लागि सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रमको अन्त्यमा नवगठित समितिका सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई थप उचाइमा पुर्याउने तथा समाज, विद्यार्थी र जातीय हितका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।