
चराइदेउ, १५ मइ: गोर्खा समुदायको भाषा, साहित्य, संस्कृति तथा सामाजिक पहिचान संरक्षणको उद्देश्यले आयोजित असम गोर्खा सम्मेलनको ८४ औँ स्थापना दिवस समारोह चराइदेव जिल्लामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई विशेष रूपमा प्रभावकारी बनाउन अखिल असम गोर्खा छात्र संघ (आग्सु) को सक्रिय सहभागिता देखिएको थियो। समाज र विद्यार्थी समुदायलाई एकताबद्ध बनाउँदै गोर्खा अस्तित्वको सवाललाई अझ मजबुत बनाउने उद्देश्यसहित आग्सुका नेतृत्वकर्ताहरू कार्यक्रममा सहभागी भएका थिए।
सोनारी क्षेत्रमा सम्पन्न उक्त कार्यक्रममा गोर्खा समाजका अग्रज व्यक्तित्व, सामाजिक अभियन्ता, विद्यार्थी प्रतिनिधि तथा विभिन्न संगठनका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा गोर्खा समुदायको ऐतिहासिक योगदान, वर्तमान चुनौती तथा सांस्कृतिक पहिचान संरक्षणका विषयमा गम्भीर छलफल गरिएको थियो। साथै सांस्कृतिक प्रस्तुति तथा विचार आदान–प्रदान कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो।
अखिल असम गोर्खा छात्र संघ (आग्सु) चराईदेउ जिल्ला समितिका सभापति अशोक लामा, कार्यालय सचिव विकी थापा, आईटी सचिव विकास प्रधान तथा कार्यकारिणी सदस्य विकी छेत्री कार्यक्रममा विशेष रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै आग्सु सोनारी आञ्चलिक समितिका सभापति रामजी नेवारको पनि कार्यक्रममा सक्रिय उपस्थिति रहेको थियो। आग्सुका प्रतिनिधिहरूले गोर्खा समाजको अधिकार, पहिचान तथा शैक्षिक चेतनाका लागि विद्यार्थी संगठनहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संगठनले भविष्यमा पनि समुदायको पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमका वक्ताहरूले असम गोर्खा सम्मेलनले विगत ८४ वर्षदेखि गोर्खा समाजको उत्थान तथा सामाजिक एकताका लागि खेलेको भूमिकाको प्रशंसा गरेका थिए। विशेषगरी युवा पुस्तालाई आफ्नो भाषा, संस्कृति र इतिहासप्रति जागरूक बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको धारणा राखिएको थियो। कार्यक्रममा उपस्थित आग्सु प्रतिनिधिहरूले पनि विद्यार्थी र युवाहरूलाई समाजप्रति जिम्मेवार बनाउँदै संगठनलाई अझ सशक्त र जनमुखी बनाउने लक्ष्यसहित अघि बढिरहेको बताएका थिए।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त स्थापना दिवस समारोहमा आग्सुको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण र प्रभावकारी बनाएको सहभागीहरूले बताएका छन्।
प्रतिवेदक: अशोक लामा- सभापति चराईदेउ जिल्ला समिति ।