All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #33
June 4, 2026

दिमा हासाओमा आग्सुको महत्वपूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरण र भावी योजनामाथि व्यापक छलफल

📅 June 4, 2026
✍️ AAGSU
🕒 12:05 AM

हाफ्लङ, २८ मेः अखिल असम गोर्खा छात्र संघ (आग्सु) दिमा हासाओ जिल्ला समितिको आयोजनामा जिल्लाको हाफ्लङस्थित अपर बागेटारमा रहेको गोर्खा भवनमा एक महत्वपूर्ण बैठक सफलतापूर्वक सम्पन्न भएको छ। संगठनको वर्तमान गतिविधि, भावी कार्ययोजना तथा संगठनात्मक एकतालाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजित उक्त बैठकमा विभिन्न तहका पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम दिउँसो १२:३० बजे आग्सु दिमा हासाओ जिल्ला समितिका मूल–सचिव श्री बिबेकानन्द जोइशीज्यूको उद्घाटन मन्तव्यबाट प्रारम्भ भएको थियो। आफ्नो सम्बोधनमा उहाँले संगठनको ऐतिहासिक भूमिका, वर्तमान चुनौती तथा विद्यार्थी समुदायको हितका लागि आग्सुले निर्वाह गर्दै आएको जिम्मेवारीबारे प्रकाश पार्नुभएको थियो। उहाँले संगठनलाई अझ प्रभावकारी र गतिशील बनाउन सबै सदस्यहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

त्यसपश्चात् जिल्ला समितिका सभापति श्री उत्तम घर्तीजीले स्वागत तथा अध्यक्षीय मन्तव्य व्यक्त गर्दै संगठनलाई मजबुत बनाउने दिशामा सबै तहका कार्यकर्ताहरूको सक्रिय सहभागिताको आवश्यकता रहेको बताउनुभयो। उहाँले दिमा हासाओ जिल्लामा आग्सुको गतिविधिलाई थप विस्तार गर्दै गोर्खा समुदायका विद्यार्थीहरूको शैक्षिक, सामाजिक तथा सांस्कृतिक उत्थानका लागि निरन्तर कार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बैठकको विशेष आकर्षणका रूपमा आग्सु केन्द्रीय समितिका उपस्थित सदस्यहरूलाई सम्मान तथा स्वागत गरिएको थियो। सम्मान कार्यक्रमपछि विभिन्न जिल्ला तथा क्षेत्रीय तहका पदाधिकारीहरूले आ-आफ्नो धारणा, सुझाव तथा अनुभवहरू प्रस्तुत गर्नुभएको थियो। वक्ताहरूले संगठनलाई समयानुकूल रूपमा सशक्त बनाउँदै विद्यार्थी र समाजका साझा मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रमलाई थप अर्थपूर्ण बनाउँदै आग्सु केन्द्रीय समितिका मूल–सचिव श्री नुमल क्षेत्रीजीले संगठनको वर्तमान अवस्था, आगामी कार्यदिशा तथा विद्यार्थी आन्दोलनका विविध पक्षबारे विस्तृत धारणा राख्नुभयो। उहाँले आग्सुको मूल उद्देश्य र आदर्शलाई आत्मसात् गर्दै संगठनात्मक अनुशासन, एकता र समर्पणका साथ अघि बढ्न सबैलाई आह्वान गर्नुभयो।

त्यसैगरी, आग्सुका सल्लाहकार श्री बिरेन्द्र सुब्बाजीले संगठनको दीर्घकालीन लक्ष्य तथा गोर्खा समुदायको समग्र विकासमा विद्यार्थी संगठनको भूमिकाबारे प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभयो। उहाँले संगठनको शक्ति यसको एकतामा निहित रहेको उल्लेख गर्दै भावी पुस्तालाई सक्षम नेतृत्व प्रदान गर्न आग्सुले अझ सक्रिय भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।

सम्पूर्ण कार्यक्रम सौहार्दपूर्ण, रचनात्मक तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। बैठकमा संगठन सुदृढीकरण, सदस्यता विस्तार, विद्यार्थी हितका कार्यक्रम तथा आगामी गतिविधिहरूबारे समेत व्यापक छलफल गरिएको जनाइएको छ।

कार्यक्रमको अन्त्य आग्सु दिमा हासाओ जिल्ला समितिका सभापति श्री उत्तम घर्तीजीको समापन मन्तव्यसँगै करिब दिउँसो ३:३० बजे सम्पन्न भएको थियो। सहभागीहरूले बैठकलाई संगठनको आगामी यात्राका लागि महत्वपूर्ण तथा फलदायी कदमका रूपमा मूल्याङ्कन गरेका छन्।

प्रतिवेदक: उज्ज्वल जैसी- सुचना एवं प्रविधि सचिव, डिमा हसाओ जिल्ला समिति।

📤 Share this story
Scroll to Top