
धेमाजी, १ जुनः धेमाजी जिल्ला गोर्खा छात्र संघको आयोजनामा तथा तेलाम आञ्चलिक समितिको आतिथ्यमा आइतबार तेलाम गोर्खा भवनमा एक भव्य तथा गरिमामय सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उच्च माध्यमिक (HS) तथा माध्यमिक (HSLC) परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका करिब ३०० जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
धेमाजी जिल्लाअन्तर्गतका १५ वटा आञ्चलिक समितिबाट छनोट गरिएका कृति विद्यार्थीहरूलाई फूलमाला, गामोसा, सम्मानपत्र तथा स्मृति–चिन्ह प्रदान गरी सम्मान व्यक्त गरिएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरू तथा संघका पदाधिकारीहरूले विद्यार्थीहरूको उल्लेखनीय सफलताको प्रशंसा गर्दै आगामी दिनमा अझ उच्च शैक्षिक उपलब्धि हासिल गर्न निरन्तर मेहनत र समर्पणका साथ अघि बढ्न आग्रह गरे।
वक्ताहरूले शिक्षा नै व्यक्ति, समाज र राष्ट्र निर्माणको आधारशिला भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई उच्च शिक्षाको क्षेत्रमा निरन्तर अग्रसर हुन प्रेरित गरे। साथै शिक्षित युवा पुस्ताले समाज निर्माण, नेतृत्व विकास तथा सामाजिक रूपान्तरणमा निर्वाह गर्ने महत्वपूर्ण भूमिकाबारे पनि प्रकाश पारिएको थियो।

कार्यक्रममा धेमाजी जिल्ला गोर्खा छात्र संघका सभापति सोमराज पुरी, मूल–सचिव दिलीप खनाल, उप–सभापतिहरू सोहित थापा, ओमप्रकाश क्षेत्री, भीम तामाङ तथा तिलक क्षेत्री, सचिव सन्तोष बस्नेत, शिक्षा सचिव विष्णु ढुङ्गाना, केन्द्रीय खेलकुद सचिव मोहन विश्वकर्मा र स्वयंसेवक दस्ता का मूख्य आह्वायक डी.के. लिम्बु, लोकबहादुर राई, नगेन सोनार, राजु क्षेत्री, गणेश थापालगायत संघका विभिन्न पदाधिकारी, कार्यकर्ता तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सम्मान कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई थप प्रेरणा प्रदान गर्ने तथा शैक्षिक प्रतिस्पर्धामा उत्कृष्टता हासिल गर्न उत्साह थप्ने विश्वास व्यक्त गरे। कार्यक्रमले जिल्लाभरिका कृति विद्यार्थीहरूको मनोबल उच्च बनाउनुका साथै शिक्षा र शैक्षिक उत्कृष्टताको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताए।
धेमाजी जिल्ला गोर्खा छात्र संघद्वारा आयोजित उक्त सम्मान समारोहलाई जिल्लामा शैक्षिक चेतना अभिवृद्धि गर्ने तथा विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने एक महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। कार्यक्रमले शिक्षा क्षेत्रप्रति सकारात्मक वातावरण सिर्जना गर्नुका साथै भावी पुस्तालाई उच्च लक्ष्य प्राप्तिका लागि प्रेरित गर्ने कार्य गरेको आयोजक पक्षले जनाएको छ।
प्रतिवेदक: दिलिप खनाल- मूल-सचिव, धेमाजी जिल्ला समिति।