All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #34
June 11, 2026

अखिल असम गोर्खा छात्र संघ (आग्सु) तेजपुर आञ्चलिक समितिको अधिवेशन सम्पन्न, २१ सदस्यीय नयाँ समिति गठन

📅 June 11, 2026
✍️ AAGSU
🕒 12:06 AM

तेजपुर, २७ मे २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) तेजपुर आञ्चलिक समितिको द्विवार्षिक अधिवेशन गोर्खा सांस्कृतिक प्रकल्प, नेपालीपट्टीमा उत्साहपूर्ण वातावरणका बीच सम्पन्न भएको छ। अधिवेशनको शुभारम्भ आञ्चलिक सभापति प्रह्लाद सुब्बाद्वारा संगठनको झण्डोत्तोलन गरी गरिएको थियो भने मूल सचिव सानु बुडाथोकीले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गर्नुभएको थियो।
उक्त अधिवेशनमा अखिल असम गोर्खा छात्र संघ, शोणितपुर जिल्ला समितिका तर्फबाट पर्यवेक्षकको रूपमा सह-सचिव पंकज चम्लागाईं, उपसभापति रवि लिम्बु तथा कार्यकारी सदस्य चन्द्र गौतम उपस्थित रहनुभएको थियो। साथै, जिल्ला सभापति दीपक सुब्बा प्रमुख अतिथिको रूपमा सहभागी भई कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।
अधिवेशनको औपचारिक सत्रमा मूल सचिव सानु बुडाथोकीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनमाथि प्रतिनिधिहरूले व्यापक छलफल गरी सर्वसम्मत रूपमा अनुमोदन गरेका थिए।
तेजपुर आञ्चलिक क्षेत्रअन्तर्गत रहेका चारवटा शाखा समितिका प्रतिनिधिहरूको सहभागितामा नयाँ समिति गठन प्रक्रिया अघि बढाइएको थियो। सर्वसम्मतिको आधारमा सानु बुडाथोकी आञ्चलिक सभापतिमा तथा राम छेत्री मूल सचिव पदमा चयन हुनुभएको छ। अन्य पदाधिकारी तथा सदस्यहरू समेत चयन गरी कुल २१ सदस्यीय तेजपुर आञ्चलिक समिति गठन गरिएको छ।
नवनिर्वाचित समितिको शपथ ग्रहण कार्यक्रम समेत सोही अवसरमा सम्पन्न भएको थियो। जिल्ला सभापति दीपक सुब्बाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै संगठनको उद्देश्य, आदर्श र जिम्मेवारीप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभएको थियो।
प्रमुख अतिथि दीपक सुब्बाले आफ्नो सम्बोधनका क्रममा संगठनलाई अझ सुदृढ, सक्रिय तथा जनमुखी बनाउँदै विद्यार्थी तथा समाजका साझा सवालहरूमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले संगठनात्मक एकता, अनुशासन, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा समेत विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो।
अन्त्यमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै अधिवेशन सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको थियो। सहभागी प्रतिनिधिहरूले नवगठित समितिले संगठनलाई अझ बलियो, गतिशील तथा प्रभावकारी बनाउँदै विद्यार्थी र समाजका हितमा उल्लेखनीय कार्य गर्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिवेदक: चन्द्र गौतम, कार्यकारिणी सदस्य, शोणितपुर जिल्ला समिति ।

📤 Share this story
Scroll to Top