
विश्व वातावरण दिवस ५ जुनको अवसरमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) को पहलमा सिलासुती ब्रह्मपुर विष्णु मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्तालाई स्वच्छ र स्वस्थ वातावरण प्रदान गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा करिब ५० वटा बिरुवा रोपिएको थियो।
कार्यक्रममा आग्सु धेमाजी जिल्ला समिति सभापति श्री सोमराज पुरी, सिलासुती आञ्चलिक समिति सभापति श्री अरुण खतिवडा, संगठनका विभिन्न पदाधिकारी तथा कार्यकर्ताहरू, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वृक्षारोपण कार्यक्रमका क्रममा सहभागीहरूले वातावरणीय सन्तुलन कायम राख्न र जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न वृक्षारोपण अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए। साथै रोपिएका बिरुवाहरूको संरक्षण, नियमित हेरचाह तथा दीर्घकालीन व्यवस्थापनका लागि सबै पक्षले सामूहिक जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिइएको थियो।
वक्ताहरूले वातावरण संरक्षण कुनै एक दिनको कार्यक्रम मात्र नभई निरन्तर रूपमा अपनाउनुपर्ने जीवनशैली भएको उल्लेख गर्दै प्रत्येक व्यक्तिले आफ्नो जीवनकालमा बढीभन्दा बढी वृक्षारोपण गर्नुपर्ने आवश्यकता औँल्याए। कार्यक्रममा उपस्थित स्थानीय बासिन्दाहरूले समेत यस्ता जनचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।
उक्त कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामुदायिक एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावनालाई थप मजबुत बनाएको आयोजक पक्षले जनाएको छ। विश्व वातावरण दिवसको सन्देशलाई व्यवहारमा उतार्दै सम्पन्न गरिएको यस कार्यक्रमलाई स्थानीयवासीहरूले सराहनीय पहलका रूपमा लिएका छन्।
प्रतिवेदक: अरुण खतिवडा-सभापति,सिलासूति आंचलिक समिति।