
भुटानखुटी १० जुन: आगामी HSLC तथा HS परीक्षामा सहभागी हुने विद्यार्थीहरूको शैक्षिक अवस्था, पठन–पाठनको प्रगति तथा परीक्षाप्रतिको तयारीबारे जानकारी लिन अखिल असम गोर्खा छात्र संघ हिमाली आञ्चलिक समितिले विशेष घरदैलो भ्रमण कार्यक्रम सञ्चालन गरेको छ। समाजमा शैक्षिक चेतना अभिवृद्धि गर्ने तथा विद्यार्थीहरूलाई परीक्षाप्रति थप प्रेरित गर्ने उद्देश्यले संघका प्रतिनिधिहरूले विभिन्न गाउँ तथा क्षेत्रका विद्यार्थीहरूको घर–घरमा पुगेर प्रत्यक्ष भेटघाट तथा संवाद गरेका थिए।
उक्त भ्रमणका क्रममा आगामी HSLC तथा HS परीक्षामा सहभागी हुने विद्यार्थीहरूको नियमित अध्ययन अवस्था, विद्यालय तथा अतिरिक्त कक्षाहरूमा सहभागिता, परीक्षाको तयारी, अध्ययन सामग्रीको उपलब्धता तथा अध्ययनका क्रममा सामना गरिरहेका विभिन्न चुनौतीहरूबारे जानकारी लिइएको थियो। साथै, विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले समय व्यवस्थापन, नियमित अध्ययन, अनुशासन तथा सकारात्मक सोचका विषयमा आवश्यक सुझाव र प्रेरणा प्रदान गरिएको थियो, जसले उनीहरूलाई आगामी परीक्षाको तयारीमा थप उत्साहित बनाउने विश्वास लिइएको छ।
कार्यक्रमका क्रममा अभिभावकहरूसँग पनि विस्तृत छलफल गरिएको थियो। विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण रहने भएकाले घरमै शान्त तथा अनुकूल अध्ययन वातावरण निर्माण गर्न, नियमित निगरानी राख्न तथा बालबालिकालाई मानसिक रूपमा प्रोत्साहन प्रदान गर्न आग्रह गरिएको थियो। साथै, विद्यार्थीहरूले सामना गरिरहेका समस्या तथा आवश्यकताहरूको पहिचान गरी आवश्यक सहयोग तथा समन्वयका सम्भावनाबारे पनि विचार–विमर्श गरिएको थियो।
छात्र संघ को यस प्रकारको घरदैलो शैक्षिक पहलले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा, जिम्मेवारीबोध तथा आत्मविश्वास बढाउनुका साथै समाजमा शिक्षाप्रतिको जागरण अझ सशक्त हुने विश्वास व्यक्त गरेको छ। संघले यो पहल केवल एकपटकको कार्यक्रम नभई आगामी दिनहरूमा पनि निरन्तर रूपमा जारी राखिने स्पष्ट पारेको छ। विद्यार्थीहरूको शैक्षिक उन्नति, मार्गदर्शन तथा आवश्यक सहयोग सुनिश्चित गर्न यस्ता अनुगमन, परामर्श तथा प्रेरणामूलक कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
“शिक्षित समाज, सक्षम भविष्य” भन्ने उद्देश्यलाई आत्मसात गर्दै समितिले ले आगामी HSLC तथा HS परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई सफलताको हार्दिक शुभकामना व्यक्त गरेको छ।
प्रतिवेदक: पवन सोनारी- सुचना एवं प्रविधि सचिव, बाक्सा जिल्ला समिति।