
राजगढ़, १७ जुनः अखिल असम गोर्खा छात्र संघ (आग्सु) राजगढ़ आञ्चलिक समितिले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै मोरीकाठनी निवासी श्री अमित सोनारका १० वर्षीय पुत्र किरण सोनारको उपचारका लागि संकलित आर्थिक सहयोग परिवारलाई हस्तान्तरण गरेको छ।
किरण सोनार केही समयदेखि गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका छन्। उनको मिर्गौलासम्बन्धी जटिल समस्या देखिएको छ भने थप स्वास्थ्य जटिलताका कारण उनको अवस्था चिन्ताजनक बनेको चिकित्सकहरूले बताएका छन्। उन्नत उपचारको आवश्यकता रहेको अवस्थामा परिवारको कमजोर आर्थिक अवस्थाले उपचार प्रक्रिया थप कठिन बनेको थियो।
यस्तो संवेदनशील परिस्थितिमा परिवारले आग्सु राजगढ़ आञ्चलिक समितिसँग सहयोगको अपिल गरेपछि समितिले तत्काल पहल गर्दै विभिन्न क्षेत्रका शुभेच्छुक, समाजसेवी, युवा तथा सर्वसाधारण नागरिकहरूमाझ सहयोग अभियान सञ्चालन गरेको थियो। अभियानप्रति समाजका विभिन्न वर्गबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो र धेरै व्यक्तिहरूले मानवीय भावनाका साथ सहयोग प्रदान गरेका थिए।
सहयोग अभियानमार्फत प्राप्त सहयोग आज राजगढ़ आञ्चलिक समितिको उपस्थितिमा बिरामी बालकका परिवारलाई हस्तान्तरण गरिएको छ। यस अवसरमा समितिका पदाधिकारीहरूले किरणको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै परिवारलाई धैर्य र साहसका साथ परिस्थितिको सामना गर्न आग्रह गरेका छन्।
राजगढ़ आञ्चलिक समितिले सहयोग अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगदाता, शुभेच्छुक तथा समाजका जिम्मेवार व्यक्तित्वहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै, बालक किरण सोनारको उपचार प्रक्रिया अझै जारी रहेकाले आगामी दिनहरूमा पनि आवश्यक परे थप सहयोग तथा मानवीय समर्थन प्रदान गर्न संगठन प्रतिबद्ध रहेको जनाएको छ। उपचार पूर्ण नभएसम्म परिवारको साथमा उभिने र सम्भव भएसम्म आवश्यक सहयोग जुटाउने प्रयासलाई निरन्तरता दिइने समितिले जनाएको छ।
कार्यक्रममा उपस्थित वक्ताहरूले समाजको एकता, सहकार्य र मानवीय संवेदनशीलताले नै कठिन परिस्थितिमा रहेका परिवारहरूलाई आशा र भरोसा प्रदान गर्ने उल्लेख गर्दै बालक किरण सोनारको पूर्ण स्वास्थ्यलाभको कामना गरेका थिए। उनीहरूले सम्पूर्ण समाजलाई मानवीय सेवाको भावनालाई अझ सशक्त बनाउँदै यस्ता कठिन घडीमा सहयोगको हात अघि बढाउन पनि आह्वान गरेका छन्।
प्रतिवेदक: प्रदिप उपाध्याय-मूल-सचिव, राजगढ आञ्चलिक समिति।