
उमराङ्सो, १८ जुनः अखिल असम गोर्खा छात्र संघ (आग्सु) उमराङ्सो आञ्चलिक समितिले पछिल्ला दिनहरूमा शैक्षिक, सामाजिक तथा वातावरणीय क्षेत्रमा विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरू सञ्चालन गर्दै आफ्नो सक्रिय उपस्थिति जनाएको छ। विद्यार्थी हित, युवा प्रोत्साहन तथा वातावरण संरक्षणलाई केन्द्रमा राखेर सम्पन्न भएका कार्यक्रमहरूले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
गत १८ जुन २०२६ मा आग्सु उमराङ्सो आञ्चलिक समितिको प्रतिनिधिमण्डलले एनईईपीसीओ (NEEPCO) का HOP तथा मानव संसाधन (HR) विभागका प्रमुखसँग भेटघाट गरी स्थानीय विद्यार्थीहरूका विभिन्न शैक्षिक समस्याबारे विस्तृत छलफल गरेको थियो। भेटघाटका क्रममा विद्यार्थी छात्रवृत्ति (Scholarship) को व्यवस्था तथा स्थानीय विद्यार्थीहरूलाई विवेकानन्द केन्द्र विद्यालय (VKV) मा भर्ना प्रक्रियामा प्राथमिकता र आवश्यक सहजीकरण प्रदान गर्ने विषयमा विशेष जोड दिइएको थियो।
प्रतिनिधिमण्डलमा आञ्चलिक सभापति मोहन क्षेत्री, मूल–सचिव चन्दन शर्मा, उप-सभापति बलराम पौडेल, कार्यालय सचिव अनुप शर्मा, संगठन सचिव प्रेम जोशी तथा कोषाध्यक्ष विष्णु उपाध्याय सहभागी थिए। प्रतिनिधिहरूले स्थानीय विद्यार्थीहरूको शैक्षिक उन्नयनका लागि संस्थागत सहयोगको आवश्यकता औँल्याउँदै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए। NEEPCO प्रशासन तथा HR विभागले प्रस्तुत विषयहरूलाई सकारात्मक रूपमा लिँदै आवश्यक पहल गर्ने आश्वासन दिएको बताइएको छ।
यसअघि १७ जुन २०२६ मा आग्सु उमराङ्सो आञ्चलिक समितिले भारतीय सेनाको अग्निवीर योजनाअन्तर्गत चयन हुन सफल भएका उमराङ्सो क्षेत्रका सात जना गोर्खा युवाहरूलाई विशेष सम्मान तथा बधाई ज्ञापन गरेको थियो। आयोजित सम्मान कार्यक्रममा सभापति मोहन क्षेत्री, मूल–सचिव चन्दन शर्मा, उप-सभापति बलराम शर्मा, संगठन सचिव प्रेम जोशी, केन्द्रीय सदस्य दिलीप क्षेत्री तथा कार्यालय सचिव अनुप शर्मा लगायत उपस्थित थिए। वक्ताहरूले युवाहरूको सफलताले सम्पूर्ण गोर्खा समुदायको गौरव बढाएको उल्लेख गर्दै उनीहरूको आगामी सेवायात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।
त्यसैगरी विश्व वातावरण दिवसको अवसरमा ५ जुन २०२६ मा आग्सु उमराङ्सो आञ्चलिक समितिको पहलमा वृक्षारोपण तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा सभापति मोहन क्षेत्री, मूल–सचिव चन्दन शर्मा, संगठन सचिव प्रेम जोशी, कोषाध्यक्ष विष्णु उपाध्याय, उप-सभापति कृष्ण शर्मा तथा सदस्य गोविन शर्मा लगायतको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा वृक्षारोपणका साथै वातावरणीय सन्तुलन, हरियाली संरक्षण तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माणको आवश्यकतामाथि चर्चा गरिएको थियो।
आग्सु उमराङ्सो आञ्चलिक समितिले विद्यार्थी कल्याण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ। पछिल्ला गतिविधिहरूले संगठन केवल विद्यार्थी आन्दोलनमा सीमित नभई समाजको समग्र विकासका पक्षमा पनि उत्तिकै प्रतिबद्ध रहेको सन्देश दिएको स्थानीयवासीहरूले बताएका छन्।
प्रतिवेदक: मोहन छेत्री- सभापति, उमरांङसु आञ्चलिक समिति।