All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #36
June 25, 2026

अग्निवीर भर्तीमा सफल युवा सचिन शर्मालाई सम्मान तथा बधाई

📅 June 25, 2026
✍️ AAGSU
🕒 12:06 AM

पश्चिम कार्बी आङलङ, २३ जुन : अखिल असम गोर्खा छात्र संघ (आग्सु) आम्रेङ–कपिली आञ्चलिक समितिअन्तर्गत ग्रेटर चें चें बिल शाखा तथा समितिको आयोजनामा भारतीय सेनाको दोस्रो चरणको अग्निवीर भर्ती प्रक्रियामा सफलतापूर्वक चयन भएका युवा सचिन शर्मालाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ।

चें चें बिल निवासी श्री राजेन शर्मा तथा श्रीमती विष्णुमाया देवीका सुपुत्र सचिन शर्मा भारतीय सेनाको अग्निवीर पदमा चयन हुनुभएको अवसरमा उहाँको निवासमै पुगेर सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा आग्सु आम्रेङ–कपिली आञ्चलिक समितिका पूर्व मूल–सचिव चन्द्र प्रसाद शर्मा, नवनिर्वाचित सांगठनिक सचिव बिमल घिमिरे, सह-शिक्षा सचिव प्रह्लाद क्षेत्री, प्रचार सचिव राहुल क्षेत्री, समाजसेवीहरू, स्थानीय बुद्धिजीवीहरू तथा क्षेत्रका अन्य गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले सचिन शर्माको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण क्षेत्र तथा समाजकै गौरवको विषय भएको बताए। उनीहरूले युवाहरूलाई लक्ष्यप्रति समर्पित भई अनुशासन, परिश्रम र राष्ट्रप्रेमका साथ अघि बढ्न आग्रह गर्दै यस्ता सफलताले अन्य युवापुस्तालाई समेत सकारात्मक प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

उक्त अवसरमा सचिन शर्मालाई खादा, पुष्पगुच्छा तथा शुभकामना पत्रमार्फत सम्मान गरिएको थियो। उपस्थित व्यक्तिहरूले उहाँको उज्ज्वल भविष्यको कामना गर्दै राष्ट्रसेवाको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभेच्छा व्यक्त गरेका थिए।

आग्सु ग्रेटर चें चें बिल शाखा तथा समितिले यस्ता सम्मान तथा प्रोत्साहनमूलक कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने जनाएको छ। समितिका अनुसार समाजमा शिक्षा, अनुशासन, राष्ट्रप्रेम र सकारात्मक सोचको विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

कार्यक्रमको अन्त्यमा समितिले भारतीय सेनाको अग्निवीर पदमा चयन हुनुभएका सचिन शर्मालाई पुनः हार्दिक बधाई ज्ञापन गर्दै सफल, उज्ज्वल तथा गौरवमय भविष्यको शुभकामना व्यक्त गरेको थियो।

प्रतिवेदक: चन्द्र प्रसाद शर्मा- मूल-सचिव, आम्रेङ कपिलि आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top