
शोणितपुर, २२ जुन : अखिल असम गोर्खा छात्र संघ (आग्सु), शोणितपुर जिल्ला समितिको शपथ ग्रहण समारोह आइतवार गरुडुबा पञ्चायत भवनको प्रेक्षागृहमा भव्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ। विभिन्न सामाजिक, साहित्यिक, शैक्षिक तथा जातीय संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नवगठित जिल्ला समितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्नुका साथै संगठनका वरिष्ठ तथा योगदानशील व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमको प्रारम्भ जिल्ला समितिका सभापति दीपक सुब्बाद्वारा संगठनको ध्वजारोहण गरी गरिएको थियो भने संघका मूल–सचिव हितेश पराजुलीले शहीद वेदीमा दीप प्रज्वलन तथा माल्यार्पण गरी ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। त्यसपछि राष्ट्रगान तथा सांगठनिक गीतमार्फत औपचारिक कार्यक्रम अघि बढाइएको थियो।
संघका मूल–सचिव हितेश पराजुलीले सञ्चालन गर्नुभएको कार्यक्रममा असम नेपाली साहित्य सभाका शोणितपुर जिल्ला सभापति अनिल गौतम, आग्सुका पूर्व शोणितपुर जिल्ला सभापति विष्णु शास्त्री, गोर्खा सम्मेलन महिला प्रकोष्ठकी अध्यक्षा दक्षिणा देवी गजुरेल लगायत विभिन्न सामाजिक तथा सांस्कृतिक संघ–संस्थाका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै, निखिल बोडो छात्र संघ (ABSU) शोणितपुर जिल्ला समितिका सभापति तथा अन्य पदाधिकारीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
समारोहको विशेष आकर्षणका रूपमा हालै निर्वाचित बरसोला विधान सभा क्षेत्रका विधायक श्रीमान ऋतुवरण शर्मालाई सम्मान तथा अभिनन्दन गरिएको थियो। कार्यक्रममा वक्ताहरूले उहाँलाई जनप्रतिनिधिको रूपमा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समाज तथा क्षेत्रको समग्र विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
यसै अवसरमा गोर्खा छात्र आन्दोलनसँग विगत तीन दशकदेखि निरन्तर आबद्ध रहँदै संगठन तथा समाजको उन्नयनका लागि महत्वपूर्ण योगदान पुर्याउनुभएका श्रद्धेय सुनील छेत्रीलाई विशेष सम्मानसहित विदाई पत्र प्रदान गरिएको थियो। करिब २८ देखि ३० वर्षसम्म संगठनका विभिन्न तहमा सक्रिय रहँदै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका उहाँले केन्द्रीय सभापतिको जिम्मेवारी समेत सफलतापूर्वक वहन गर्नुभएको थियो। केही महिनाअघि संगठनको पवित्र मञ्चबाट औपचारिक रूपमा अवकाश लिनुभएका छेत्रीप्रति कार्यक्रमका वक्ताहरूले उच्च सम्मान व्यक्त गर्दै उहाँले प्रारम्भ गर्नुभएको राजनीतिक यात्राको सफलताको कामना गरेका थिए।
त्यसैगरी, दुई दशकभन्दा बढी समयदेखि संगठनसँग आबद्ध रही गोर्खा समाजका विविध सवालमा अग्रपङ्क्तिबाट नेतृत्व प्रदान गर्दै आउनुभएका तथा शोणितपुर जिल्ला समितिको सभापतिको जिम्मेवारी लगातार दुई कार्यकालसम्म सफलतापूर्वक निर्वाह गर्नुभएका दीपक सुब्बालाई पनि विशेष सम्मानपत्रसहित अभिनन्दन गरिएको थियो। वक्ताहरूले संगठन निर्माण, विस्तार तथा सुदृढीकरणमा उहाँले पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि मार्गदर्शक भूमिकामा रहिरहन आग्रह गरेका थिए।
कार्यक्रममा उपस्थित अतिथिहरूले नवगठित जिल्ला समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संगठनलाई अझ प्रभावकारी, सक्रिय तथा जनमुखी बनाउन आवश्यक सुझावहरू दिएका थिए। उनीहरूले विद्यार्थी समुदायका हक, अधिकार, शिक्षा, रोजगार तथा सामाजिक मुद्दाहरूमा संगठनले अझ सशक्त ढङ्गले आवाज उठाउनुपर्ने आवश्यकता औँल्याएका थिए।
शपथ ग्रहण पश्चात् नवगठित जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूले संगठनको उद्देश्य, आदर्श तथा सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रहँदै गोर्खा समाज र विद्यार्थी समुदायको सर्वाङ्गीण हितका लागि समर्पित भएर कार्य गर्ने शपथ ग्रहण गरेका थिए। उनीहरूले संगठनलाई अझ बलियो, गतिशील र जनविश्वासयुक्त संस्थाका रूपमा स्थापित गर्न सामूहिक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।
उत्साह, अनुशासन र सांगठनिक एकताको सन्देश प्रवाह गरेको उक्त ३९औँ शपथ ग्रहण समारोहले शोणितपुर जिल्लामा आग्सुको संगठनात्मक मजबुती, नेतृत्व हस्तान्तरणको परम्परा तथा समाजप्रतिको उत्तरदायित्वलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।
प्रतिवेदक: चन्द्र गौतम- सचिव, शोणितपुर जिल्ला समिति ।