All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #36
June 25, 2026

तामुलपुरमा आग्सुको केन्द्रीय नेतृत्व: केन्द्रीय प्रतिनिधि सभा सम्बन्धी प्रचार–प्रसार तथा निमन्त्रणा

📅 June 25, 2026
✍️ AAGSU
🕒 12:05 AM

तामुलपुर, २३ जुन: उपल्लो असमको धेमाजी जिल्लास्थित सिलापथारमा आगामी १५ जुलाईमा एकदिवसीय कार्यसूचीका साथ सम्पन्न हुन गइरहेको अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिको १८औँ द्विवार्षिक अधिवेशन अन्तर्गत केन्द्रीय प्रतिनिधि सभालाई सफल तुल्याउने उद्देश्यले संघ तथा स्वागतकारिणी समितिले प्रचार–प्रसार र निमन्त्रण अभियानलाई तीव्रता दिएको छ।

यसै क्रममा आग्सु केन्द्रीय समितिका कार्यवाहक सभापति सञ्जीव चौहान तथा मूल सचिव नुमल छेत्रीको नेतृत्वमा केन्द्रीय तथा विभिन्न तहका पदाधिकारी एवं कार्यकर्ताहरूको प्रतिनिधि टोली सोमबार तामुलपुर जिल्लामा उपस्थित भई कार्यकर्ताहरू, शुभेच्छुकहरू तथा समाजका अगुवाहरूसँग सौहार्दपूर्ण भेटघाट तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न गरेको छ।

तामुलपुर जिल्ला समिति अन्तर्गत पूर्व डेफेली आञ्चलिक समितिको मुख्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय नेतृत्वले आग्सुको १८औँ द्विवार्षिक केन्द्रीय प्रतिनिधि सभाको महत्व, उद्देश्य तथा संगठनात्मक आवश्यकताबारे विस्तृत जानकारी गराएको थियो। साथै प्रतिनिधि सभालाई सफल बनाउन सबै तहका कार्यकर्ता तथा सदस्यहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा राख्दै औपचारिक निमन्त्रणासमेत प्रदान गरिएको थियो।

भेटघाट तथा छलफलका क्रममा संगठनका वर्तमान गतिविधि, विद्यार्थी समुदायसँग सम्बन्धित विविध विषय, सामाजिक उत्तरदायित्व तथा भावी कार्ययोजनाबारे समेत विचार–विमर्श गरिएको थियो।

कार्यक्रममा तामुलपुर जिल्ला समितिका नेतृत्व तथा कार्यकर्ताहरूले प्रतिनिधि सभाको सफलताका लागि शुभकामना व्यक्त गर्दै पूर्ण सहयोग र सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

तामुलपुरमा सम्पन्न यस प्रचार–प्रसार तथा निमन्त्रण अभियानले संगठनका विभिन्न तहबीचको समन्वय, सहकार्य तथा आपसी सम्बन्धलाई अझ सुदृढ बनाएको विश्वास व्यक्त गरिएको छ।

प्रेरक : विप्लव चिमरीया-मूल सचिव, तामुलपुर जिल्ला समिति,

📤 Share this story
Scroll to Top