
विश्वनाथ, १९ जुलाई। अखिल असम गोर्खा छात्र संघ (आग्सु) विश्वनाथ जिल्ला समितिको निर्देशना अनुसार बाघमरा आञ्चलिक समितिको सहकार्य तथा बरझारणी शाखा समितिको सक्रिय पहलमा ऐतिहासिक असम आन्दोलनकी प्रथम महिला सहिद बैजयन्ती देवी उपाध्यायको जन्मजयन्ती श्रद्धा र सम्मानका साथ पालन गरिएको छ।
कार्यक्रमको प्रारम्भ सहिद उपाध्यायको तस्वीरमा दीप प्रज्वलन तथा माल्यार्पण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पणबाट गरिएको थियो। त्यसपश्चात आयोजित विशेष सभामा वक्ताहरूले मातृभूमि र राष्ट्रका लागि उहाँले पुर्याउनुभएको अतुलनीय योगदान,त्याग तथा समर्पणको स्मरण गर्दै उहाँको जीवन र बलिदान आजको पुस्ताका लागि प्रेरणाको स्रोत रहेको धारणा व्यक्त गरे।साथै, वीर सहिदहरूले देखाएको राष्ट्रभक्तिको मार्गलाई आत्मसात् गर्दै समाज र राष्ट्रप्रतिको जिम्मेवारी निर्वाह गर्न सबैले प्रतिबद्ध हुनुपर्नेमा जोड दिइयो।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ बाघमरा आञ्चलिक समितिका सभापति पवन दाहाल, उप-सभापति राज शर्मा,मूल-सचिव हृत्तिक शर्मा तथा विश्वनाथ जिल्ला समितिका नेतृत्व अनुप शर्माको उपस्थिति रहेको थियो। त्यसैगरी,अविभक्त शोणितपुर जिल्ला समितिका पूर्व सभापति तथा वर्तमान आञ्चालिक सल्लाहकार घनश्याम प्याकुरेल,अविभक्त शोणितपुर जिल्ला समितिका प्राक्तन सांगठनिक सचिव सागर पौडेल तथा प्राक्तन आग्सुकर्मी तिलक राज पौडेलको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा बरझारणी शाखा समितिका सभापति लक्ष्यद्वीप शर्मा,भारप्राप्त मूल-सचिव मनोज शर्मा,शाखा समितिका पदाधिकारी,कार्यकर्ता तथा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमले अमर सहिद बैजयन्ती देवी उपाध्यायको त्याग,बलिदान र राष्ट्रप्रेमको सन्देशलाई नयाँ पुस्तामाझ अझ सशक्त रूपमा प्रवाह गरेको आयोजकले जनाएको छ।
प्रतिवेदक: हृत्तिक शर्मा, मूल-सचिव,बाघमारा आञ्चालिक समिति।