
राजगढ़, जुलाई १९ : ऐतिहासिक असम आन्दोलनकी प्रथम महिला शहीद बैजयन्ती देवी उपाध्यायको पवित्र जन्मजयन्तीको अवसरमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) राजगढ़ आञ्चलिक समितिले आइतबार श्रद्धाञ्जली कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमको प्रारम्भ शहीद बैजयन्ती देवी उपाध्यायको तस्बिरमा दीप प्रज्वलन तथा माल्यार्पण गरी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै गरिएको थियो। सहभागीहरूले असम आन्दोलनमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदान, बलिदान तथा राष्ट्रप्रतिको समर्पणलाई स्मरण गर्दै उहाँको आदर्शलाई नयाँ पुस्तासम्म पुर्याउनु आजको आवश्यकता भएको धारणा व्यक्त गरे।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ राजगढ़ आञ्चलिक समितिका सभापति मधु क्षेत्री, उप-सभापति विक्रम सुब्बा, मूल–सचिव प्रदीप उपाध्याय, उत्तर गहपुर ज्येष्ठ नागरिक समितिका सभापति कविराज क्षेत्री, मूल–सचिव रोहित देउजा, साथै राजगढ़ आञ्चलिक समितिका पदाधिकारी, कार्यकर्ता, विभिन्न सामाजिक व्यक्तित्व तथा स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले शहीद बैजयन्ती देवी उपाध्यायको त्याग, साहस र समर्पणले असम आन्दोलनलाई ऐतिहासिक उचाइ प्रदान गरेको उल्लेख गर्दै उहाँको जीवनबाट प्रेरणा लिएर समाज, भाषा, संस्कृति र राष्ट्रिय हितका लागि समर्पित भएर अघि बढ्न युवापुस्तालाई आग्रह गरेका थिए।
प्रतिवेदक : प्रदीप उपाध्याय, मूल–सचिव, राजगढ़ आञ्चलिक समिति