
मरिगाउँ, १८ जुलाई २०२६: अन्तर्राष्ट्रिय मञ्चमा भारतको प्रतिनिधित्व गर्दै चेक गणतन्त्रको प्राग (Prague, Czech Republic) मा आयोजना हुन गइरहेको ‘मिस एण्ड मिस्टर डेफ वर्ल्ड, युरोप एण्ड एसिया २०२६’ (Miss & Mister Deaf World, Europe and Asia 2026) मा सहभागी हुनका लागि उदालगुड़ी जिल्ला अन्तर्गत शुक्लाईका निवासी धर्म निरौलाको सुपुत्री रुपा निरौला (Rupa Nirola) युरोप प्रस्थान गरेकी छन्।
उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता २० जुलाई २०२६ देखि २९ जुलाई २०२६ सम्म चेक गणतन्त्रको प्रागस्थित क्लेरियन कंग्रेस होटल (Clarion Congress Hotel Prague) मा सञ्चालन हुँदैछ। प्रतियोगिताको मुख्य आकर्षणको रूपमा रहने ‘ग्रयाण्ड गाला इभनिङ’ (Main Gala Evening) २५ जुलाई २०२६ का दिन साँझ ७:०० बजे आयोजना हुनेछ। यस प्रतियोगितामा विश्वका २२ भन्दा बढी देशका छानिएका ३६ जना (१८ पुरुष र १८ महिला) सहभागीहरूबिच प्रतिस्पर्धा हुनेछ।
यस अवसरमा गत १८ जुलाई २०२६ का दिन अखिल असम गोर्खा छात्र संघ (AAGSU) मरिगाउँ जिल्ला समितिका पदाधिकारीहरूले विमानस्थल पुगेर उनलाई हार्दिक शुभकामनाका साथ भावुक एवं भव्य बिदाइ तथा शुभकामना व्यक्त गरे। बिदाइ कार्यक्रममा आग्सु मरिगाउँ जिल्ला समितिका तर्फबाट मूल सचिव दीपांकर सेढाई र आईटी (IT) सचिव आदित्य शर्मा उपस्थित थिए। उहाँहरूले रुपाको यस उपलब्धिप्रति गर्व व्यक्त गर्दै अन्तर्राष्ट्रिय मञ्चमा भारत र असमको नाम उच्च राख्न सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो।
यसैगरी, असम एसोसिएसन अफ द डेफ (Assam Association of the Deaf) का मूल सचिव तपन कुमार शर्मा पनि उक्त बिदाइ कार्यक्रममा सहभागी हुनुका साथै रुपालाई नयाँ दिल्लीसम्म पुर्याउनका लागि स्वयं साथमा जानुभएको छ। दिल्लीबाट उहाँ युरोपतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
असमका गोर्खा समुदायका साथै सम्पूर्ण भारतबासीका तर्फबाट प्रतिभाशाली रुपा निरौलालाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देशको गौरव बढाउन सफल होउन् भन्ने हार्दिक शुभकामना व्यक्त गरिन्छ।
प्रतिवेदक: आदित्य शर्मा- सुचना एवं प्रविधि सचिव, मोरिगाउँ जिल्ला समिति।