
उदालगुडी, १७ जुलाई : अखिल असम गोर्खा छात्र संघ (आग्सु) को १८औँ द्वि-वार्षिक प्रतिनिधि सभाबाट अखिल असम गोर्खा छात्र संघको मूल सचिव जस्तो गरिमामय तथा जिम्मेवारीपूर्ण पदमा निर्वाचित भएपछि गृह जिल्ला उदालगुडी फर्कनुभएका नवनिर्वाचित मूल सचिव श्री सोमराज सोनारलाई आग्सु उदालगुडी जिल्ला कार्यालयमा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ।
आग्सु उदालगुडी जिल्ला समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा असम गोर्खा सम्मेलन (अगोस) लगायत विभिन्न सामाजिक, साहित्यिक तथा सामुदायिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले नवनिर्वाचित मूल सचिव सोनारलाई खदा, पुष्पगुच्छ तथा सम्मानपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा वक्ताहरूले श्री सोमराज सोनारको संगठन प्रतिको समर्पण, संगठनात्मक अनुभव, नेतृत्व क्षमता तथा समाजप्रतिको उत्तरदायित्वको उच्च प्रशंसा गर्दै उहाँको नेतृत्वमा आग्सुले विद्यार्थी अधिकार, गुणस्तरीय शिक्षा, सामाजिक एकता तथा गोर्खा समुदायको हकहितका पक्षमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा विशेष रूपमा आग्सुका पूर्व मूल सचिव श्री पुष्पधर शर्मा, आग्सु बिटिसी क्षेत्रीय समितिका सभापति श्री रोहित कुमार दाहाल, असम गोर्खा सम्मेलनका केन्द्रीय सचिव डा. रमेश दाहाल, क्षेत्रीय समितिका उपसभापति श्री तेजबहादुर अधिकारी, मूल सचिव श्री भुवन धमाला, जिल्ला समितिका उपदेष्टा श्री पूर्ण किरात राई, सभापति श्री पवन लुइटेल, कार्यकारी सभापति श्री कमल सुब्बा, उपसभापति श्री देवराज नेउपाने, जिल्ला मूल सचिव श्री भवेन छेत्री, महिला प्रकोष्ठ जिल्ला समितिकी मूल सचिवा श्रीमती हिरा कार्की, श्रीमती तारा खड्का, असम नेपाली साहित्य सभाका केन्द्रीय सचिव श्री लक्ष्मण अधिकारी, जिल्ला सभापति श्री तिलबहादुर रेग्मी, उपसभापति श्री मोहन राउत, महिला नेतृ श्रीमती इन्दिरा खड्का, श्रीमती दुलुमनी देवी, लिम्बु महासभा असमका मूल सचिव श्री ईश्वर लिम्बु, आग्सु उदालगुडी जिल्ला समितिका मूल सचिव श्री किशोर सिरपाली तथा जिल्ला समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरू, विभिन्न आञ्चलिक समितिका नेतृत्ववर्गको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसैगरी, छिमेकी जिल्लाहरूबाट पनि नेतृत्ववर्गको सहभागिता रहेको थियो। आग्सु तामुलपुर जिल्ला समितिका मूल सचिव श्री विप्लव चिमरिया, आग्सु बाक्सा जिल्ला समितिका उपसभापति श्री एमकान्त पौडेल तथा श्री नन्द बुढाथोकीको समेत कार्यक्रममा विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित मूल सचिव श्री सोमराज सोनारले आफूलाई प्रदान गरिएको सम्मानप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले यो पद व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण गोर्खा जनमानसको विश्वास र जिम्मेवारी भएको उल्लेख गर्दै संगठनको गरिमा कायम राख्दै विद्यार्थी हित, शिक्षा, सामाजिक उत्तरदायित्व तथा गोर्खा समुदायका साझा सवालहरूमा इमान्दार, सक्रिय र परिणाममुखी ढंगले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त स्वागत तथा अभिनन्दन कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सहभागीहरूले आग्सुको नयाँ नेतृत्वले संगठनलाई अझ सशक्त, गतिशील र जनमुखी बनाउँदै जातीय उन्मुक्तिको क्षेत्रमा संगठनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका थिए।
प्रतिबेदक: श्री सञ्जय छेत्री, मुल सचिव, आग्सु, टंला आञ्चलिक समिति।