
तिनसुकिया, २६ जुलाई २०२६ : असमका सराइदो, सिबसागर र जोरहाट क्षेत्रमा आएको प्रलयकारी बाढीले हजारौँ परिवारलाई प्रत्यक्ष रूपमा प्रभावित बनाएको छ। बाढीका कारण धेरै परिवारका घर, सम्पत्ति तथा जीविकोपार्जनका आधारहरू नष्ट हुँदा उनीहरू खाद्यान्न, लत्ताकपडा तथा अन्य आधारभूत आवश्यकताबाट समेत वञ्चित हुन पुगेका छन्।
यही कठिन परिस्थितिलाई मध्यनजर गर्दै अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समिति ले २६ जुलाई २०२६ मा बाढीपीडितहरूको सहयोगार्थ विशेष राहत अभियान सञ्चालन गर्यो। अभियानमा गोरखा नारी परिषद्, आग्सुका विभिन्न आञ्चलिक समितिहरू, भारतीय सेना तथा असम राइफल्स ले सक्रिय सहकार्य गर्दै मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरे।
संयुक्त प्रयासस्वरूप करिब २० वटा डीआई गाडी मार्फत खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य अत्यावश्यक राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रहरूमा पुर्याइयो। स्वयंसेवकहरूको सक्रिय सहभागितामा राहत सामग्री बाढीपीडित परिवारहरूलाई व्यवस्थित रूपमा वितरण गरिएको थियो, जसबाट धेरै परिवारले तत्काल आवश्यक सहयोग प्राप्त गरे।
विपद्को समयमा विभिन्न सामाजिक संस्था, स्वयंसेवक, सुरक्षाकर्मी तथा स्थानीय समुदायबीच भएको समन्वयले राहत अभियानलाई प्रभावकारी बनाएको थियो। यस अभियानले राहत वितरणसँगै सामाजिक एकता, सहकार्य, मानवीय संवेदना र सेवाभावको सशक्त सन्देशसमेत प्रवाह गरेको छ।
अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समितिले भविष्यमा पनि प्राकृतिक विपद् तथा अन्य मानवीय संकटका बेला समाजको साथमा उभिएर यस्ता सेवामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिवेदक : जतन प्रधान, संगठनिक सचिव (IT Incharge), तिनसुकिया जिल्ला समिति ।