
बिहुवर नेपालीखुट्टी, ५ अगस्ट : अखिल असम गोर्खा छात्र संघ (आग्सु) को केन्द्रीय समितिले जारी गरेको अधिसूचनाअनुसार बाढी प्रभावित क्षेत्र बिहुवर नेपालीखुट्टीमा बुधबार बृहत् श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा आग्सुका केन्द्रीय सभापति नुमल छेत्री तथा मूलसचिव सोमराज सोनार को नेतृत्वमा केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
आग्सुद्वारा जारी अधिसूचनालाई पालनगर्दै तिनसुकिया, डिब्रुगढ, शिवसागर, जोरहाट तथा धेमाजी जिल्ला समितिका नेतृत्व तथा प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको उक्त श्रमदान कार्यक्रम बाढीपछिको पुनर्निर्माण तथा सरसफाइ अभियानअन्तर्गत सञ्चालन गरिएको हो।
श्रमदानका क्रममा बाढीबाट प्रभावित सार्वजनिक क्षेत्रको सरसफाइ, क्षतिग्रस्त संरचनाको पुनर्स्थापना तथा पुनर्निर्माणका प्रारम्भिक कार्यहरू सम्पन्न गरिएको जनाइएको छ। प्राकृतिक विपद्पछि प्रभावित समुदायलाई शीघ्र सामान्य अवस्थामा फर्काउन स्वयंसेवी भावनाका साथ आग्सुका केन्द्रीय तथा जिल्ला तहका नेतृत्व एकजुट भएर श्रमदानमा सहभागी भएका थिए।
आग्सुका केन्द्रीय सभापति नुमल छेत्रीले विपद्को समयमा समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्नु प्रत्येक सामाजिक संस्थाको दायित्व भएको उल्लेख गर्दै पुनर्निर्माण अभियानमा सबै पक्षको साझा सहकार्य आवश्यक रहेको बताए। त्यसैगरी मूलसचिव सोमराज सोनारले आग्सुले शिक्षा, सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सेवामूलक अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
आग्सुले जारी गरेको अधिसूचनामा विपद्को घडीमा प्रभावित समुदायको साथमा उभिन तथा पुनर्निर्माण अभियानलाई प्रभावकारी बनाउन सम्बन्धित जिल्ला समितिहरूलाई सक्रिय रूपमा परिचालन गरिएको जनाइएको छ। साथै आगामी दिनहरूमा पनि आवश्यकता अनुसार राहत, पुनर्स्थापना तथा सामाजिक सेवासम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिइएको छ।
बाढीपछिको पुनर्निर्माणमा केन्द्रीय नेतृत्व र पाँच जिल्ला समितिको संयुक्त सहभागिताले संगठनको सामाजिक उत्तरदायित्व, एकता, सेवाभाव तथा सामूहिक कार्यसंस्कृतिको सशक्त उदाहरण प्रस्तुत गरेको स्थानीयवासीहरूले बताएका छन्।