
शिवसागर, १३ अगस्त २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) को केन्द्रीय समितिको नेतृत्वमा तथा विभिन्न जिल्ला समितिहरूको सक्रिय सहभागितामा शिवसागर जिल्लाका बाढीपीडित परिवारका लागि राहत, उद्धार तथा पुनःस्थापनाको कार्य निरन्तर रूपमा अघि बढिरहेको छ। बाढीबाट प्रभावित सर्वसाधारणलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउन आग्सुका स्वयंसेवकहरू प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएका छन्।
शिवसागर जिल्लाको बिहुवर नेपालीखुट्टी तथा कमल छपडी क्षेत्रमा आएको बाढीका कारण धेरै घरपरिवार प्रभावित भएका छन्। बाढीको पानी घटेपछि पनि प्रभावित परिवारहरूको समस्या तत्काल समाधान हुन सकेको छैन। धेरै घरभित्र हिलो–पाखाल पसेर बस्नै नसक्ने अवस्था सिर्जना भएको थियो। यस्तो कठिन परिस्थितिमा आग्सुका स्वयंसेवकहरूले प्रभावित परिवारहरूको घरदैलोमा पुगेर हिलो–पाखाल हटाउने, घर–आँगन सफा गर्ने तथा सरसफाइमा सहयोग गर्ने कार्य निरन्तर रूपमा सञ्चालन गरिरहेका छन्।
राहत सामग्री वितरणसँगै प्रभावित परिवारका घरहरू प्रत्यक्ष रूपमा सफा गरी पुनः बस्नयोग्य बनाउने कार्य आग्सुको राहत अभियानको महत्वपूर्ण पक्ष बनेको छ। स्वयंसेवकहरूको निरन्तर प्रयासबाट धेरै परिवारलाई आफ्नै घरमा फर्किएर सामान्य जीवन सुरु गर्न सहयोग पुगेको छ। विपद्को समयमा राहत सामग्री उपलब्ध गराउनुका साथै प्रभावित परिवारलाई प्रत्यक्ष श्रम र सहयोगमार्फत पुनःस्थापनामा साथ दिनु आग्सुको अभियानको विशेष पक्ष बनेको छ।
यसै क्रममा बाढीपीडित परिवारहरूको तत्कालीन बसोबासलाई सहज र सुरक्षित बनाउन बिहुवर नेपालीखुट्टी तथा कमल छपडी क्षेत्रमा शौचालय र बाथरुमको सुविधासहित अस्थायी शिविर निर्माणको कार्य तीव्र रूपमा अघि बढिरहेको छ। बाढीका कारण घरमा बस्न नसक्ने तथा तत्काल सुरक्षित आश्रय आवश्यक भएका परिवारलाई अस्थायी रूपमा सुरक्षित बसोबास उपलब्ध गराउने उद्देश्यले शिविर निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको हो।
यस सम्पूर्ण राहत तथा पुनःस्थापना अभियानको प्रत्यक्ष नेतृत्व आग्सुका मूल–सचिव श्री सोमराज सोनारले गरिरहनुभएको छ। उहाँ स्वयं बाढी प्रभावित क्षेत्रमा बसेर राहत वितरण, सरसफाइ, पुनःस्थापना तथा अस्थायी शिविर निर्माणलगायतका कार्यको सञ्चालन र समन्वय गरिरहनुभएको छ। उहाँलाई साथ दिँदै केन्द्रीय समितिका सांगठनिक सचिव श्री दीपक सुब्बासमेत निरन्तर रूपमा राहत अभियानमा खटिनुभएको छ।
अभियानमा शिवसागर जिल्ला समितिसहित आग्सुको केन्द्रीय नेतृत्वको सक्रिय सहभागिता रहेको छ। साथै, धेमाजी, तिनसुकिया, डिब्रुगढ, जोरहाटलगायत विभिन्न जिल्ला समितिबाट आएका पदाधिकारी, कार्यकर्ता तथा स्वयंसेवकहरूको सक्रिय सहयोगले राहत तथा पुनःस्थापनाको कार्यलाई थप प्रभावकारी बनाएको छ। विभिन्न जिल्ला समितिका स्वयंसेवकहरू प्रभावित क्षेत्रमा पुगेर घर सफाइ, हिलो–पाखाल हटाउने, राहत वितरण तथा अस्थायी शिविर निर्माणमा प्रत्यक्ष रूपमा योगदान दिइरहेका छन्।
बाढीले जनजीवन अस्तव्यस्त बनाएको यस कठिन परिस्थितिमा आग्सुले आफ्नो अभियानलाई केवल राहत सामग्री वितरणमा सीमित नराखी प्रभावित परिवारको वास्तविक आवश्यकताअनुसार प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ। घरभित्र जमेको हिलो–पाखाल हटाउने, घर–आँगन सफा गर्ने, आवश्यक राहत सामग्री पुर्याउने तथा सुरक्षित अस्थायी आश्रय निर्माण गर्ने कार्यमार्फत प्रभावित परिवारलाई कठिन अवस्थाबाट बाहिर निस्कन सहयोग पुर्याइएको छ।
जनताको दुःखमा साथ दिँदै विपद्को समयमा प्रभावित परिवारको घरदैलोमा पुगेर सेवा गर्ने, तत्कालीन आवश्यकता पूरा गर्ने तथा पुनःस्थापनाको प्रक्रियामा सहयोग पुर्याउने आग्सुको यो अभियान मानवीय सेवा, सामाजिक उत्तरदायित्व र सामूहिक सहकार्यको उदाहरण बनेको छ। प्रभावित परिवारको अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै आगामी दिनमा पनि राहत तथा पुनःस्थापनाका कार्यलाई निरन्तरता दिइने बताइएको छ।
Report : chandan Sharma, Magazine Secretary, Central Committee