
सादिया, १२ अगस्त २०२६: असम–अरुणाचल प्रदेश अन्तर्राज्यीय सीमा क्षेत्रमा १० अगस्तमा भएको गोलीकाण्डमा असमका स्थानीय ११ जना गाउँले घाइते भएपछि घटनाको विरोधमा विभिन्न छात्र तथा सामाजिक संगठनहरूले थालेको आन्दोलनमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) पुव सादिया आञ्चलिक समितिले सक्रिय सहभागिता जनाएको छ।
बदाती–मिङमाङ क्षेत्रमा भएको उक्त घटनामा अरुणाचल प्रदेशतर्फबाट आएका कथित उपद्रवीहरूले असमका स्थानीय बासिन्दामाथि गोली चलाएको आरोप छ। घटनामा ११ जना घाइते भएका थिए, जसमध्ये केहीलाई थप उपचारका लागि डिब्रुगढस्थित अस्पतालमा पठाइएको थियो।
घटनाको कडा विरोध गर्दै पुव सादिया आञ्चलिक समिति, आग्सुले अन्य संगठनहरूसँग ऐक्यबद्धता जनाउँदै दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग अघि सारेको छ। आन्दोलनमा सहभागी संगठनहरूले दोषीहरूको पहिचान गरी असम प्रहरीको जिम्मा लगाउनुपर्ने तथा निष्पक्ष र शीघ्र कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन्।
आन्दोलनको क्रममा असम–अरुणाचल आवागमन प्रभावित हुने गरी अनिश्चितकालीन सडक अवरोध तथा आर्थिक नाकाबन्दीको कार्यक्रम अघि बढाइएको छ। यसअघि १२ अगस्तदेखि सडक तथा आर्थिक अवरोधको घोषणा गरिएको थियो र आन्दोलनलाई न्याय, सुरक्षा तथा जवाफदेहिताका लागि लोकतान्त्रिक र शान्तिपूर्ण अभियानका रूपमा प्रस्तुत गरिएको थियो।
पुव सादिया आञ्चलिक समिति, आग्सुले असमको भूमि, सीमावर्ती जनताको सुरक्षा तथा शान्तिपूर्ण वातावरण कायम गर्न सरकारसमक्ष तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। समितिले दोषीमाथि कडा कानुनी कारबाही नभएसम्म प्रभावित जनताको पक्षमा आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेको छ।
सीमावर्ती क्षेत्रमा पटक–पटक उत्पन्न हुने विवादको स्थायी समाधानका लागि अन्तर्राज्यीय सीमा विवादलाई संवाद र संवैधानिक प्रक्रियामार्फत समाधान गर्दै स्थानीय जनताको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा पनि आन्दोलनकारी संगठनहरूले जोड दिएका छन्।
प्रतिवेदक : राजेन छेत्री- सभापति, पुव सादिया आञ्चलिक समिति ।