📰 AAGSU e-Bulletin
Issue #45
August 27, 2026

८३औँ बलिदान दिवसमा विविध कार्यक्रम तथा म्याराथन दौड सम्पन्न

📅 August 27, 2026
✍️ AAGSU
🕒 12:05 AM

निकाशी (बाक्सा), २५ अगष्ट २०२६: वीर शहीद मेजर दुर्गामल्लको त्याग, साहस, बलिदान तथा राष्ट्रप्रतिको योगदानको स्मरण गर्दै ८३औँ बलिदान दिवसको अवसरमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) बाक्सा जिल्ला अन्तर्गत बाक्सा तथा हिमाली आञ्चलिक समितिको संयुक्त आयोजनामा विविध शैक्षिक, बौद्धिक तथा खेलकुद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको शुभारम्भ बिहान ४ बजे म्याराथन दौड प्रतियोगिताबाट गरिएको थियो। प्रतियोगितामा १५ किलोमिटर र १० किलोमिटर गरी दुई वर्गमा धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। १५ किलोमिटरतर्फ प्रकाश दाहाल प्रथम, प्रिङ्कल कार्की द्वितीय तथा करण कुमार तृतीय भए। त्यस्तै, १० किलोमिटरतर्फ सुश्री पूनम थापा प्रथम, रश्मिता थापा द्वितीय तथा ममता छेत्री तृतीय स्थान हासिल गर्न सफल भए।

म्याराथन प्रतियोगितामा बाक्सा जिल्ला समितिका सभापति दिपेन्द्र कार्की, उपसभापति खिरोज दाहाल तथा संगठनिक सचिव धर्म भण्डारीको उपस्थिति रहेको थियो। सहभागी धावकहरूले अनुशासन, उत्साह र खेलभावनाका साथ सहभागिता जनाउँदै कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याएका थिए।

म्याराथनपछि आयोजित मूल कार्यक्रममा बाक्सा आञ्चलिक समितिका सभापति चन्दन भुसालद्वारा झण्डोत्तोलन तथा समाजसेवी दयानन्द भण्डारीद्वारा दीप प्रज्वलन गरिएको थियो। त्यसपछि वीर शहीद मेजर दुर्गामल्लको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। असम नेपाली साहित्य सभा केन्द्रीय समितिका शिक्षा सचिव पृथ्वीलाश भट्टराईले शहीदको प्रतिमामा माल्यार्पण गरेका थिए।

कार्यक्रमअन्तर्गत अन्तरविद्यालय क्विज प्रतियोगितासमेत आयोजना गरिएको थियो। विभिन्न १२ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा Bright Star English Boarding School प्रथम, Modern Higher Secondary School द्वितीय तथा Modern English School तृतीय भएका थिए। प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्ने क्विज मास्टरहरू, सहभागी विद्यालय तथा विद्यार्थीहरूप्रति आयोजक समितिले आभार व्यक्त गरेको छ।

कार्यक्रममा AAGSU बाक्सा जिल्ला समितिका सभापति दिपेन्द्र कार्की, उपसभापति खिरोज दाहाल, स्वयंसेवक प्रमुख भालबहादुर कटुवाल, असम नेपाली साहित्य सभा केन्द्रीय समितिका उपसभानेत्रीद्वय जयन्तीकला गजमेर र गीता दाहाल, असम नेपाली साहित्य सभा केन्द्रीय कार्यकारी सभापति शान्तिराम पोख्रेल, BTC क्षेत्रीय समितिका प्रतिष्ठापक सभापति एवनारायण पाठक तथा बाक्सा जिल्ला समिति गोर्खा सम्मेलनका मूल सचिव आकाश पोख्रेललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

शिक्षा, खेलकुद तथा युवाको व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै AAGSU बाक्सा जिल्ला समितिले आगामी दिनमा पनि विभिन्न शैक्षिक, बौद्धिक तथा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। मेजर दुर्गामल्लको त्याग र बलिदानलाई नयाँ पुस्तामाझ पुर्‍याउँदै राष्ट्रप्रेम तथा देशभक्तिको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमले युवा पुस्तालाई शिक्षा, खेलकुद र सामाजिक क्षेत्रमा सक्रिय हुन प्रेरणा दिएको आयोजकले जनाएको छ।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने अतिथि, पदाधिकारी, धावक, विद्यार्थी, विद्यालय, क्विज मास्टर, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीहरूप्रति आयोजक समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

प्रतिवेदक : पवन सोनारी, सूचना एवं प्रविधि सचिव, बाक्सा जिल्ला समिति

📤 Share this story
Scroll to Top