📰 AAGSU e-Bulletin
Issue #45
August 27, 2026

स्वतन्त्रता दिवसको अवसरमा उत्तर बाक्सा शाखा समितिद्वारा भलिबल तथा फुटबल प्रतियोगिता सम्पन्न

📅 August 27, 2026
✍️ AAGSU
🕒 12:07 AM

बाक्सा, १५ अगस्त २०२६: भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) अन्तर्गत उत्तर बाक्सा शाखा समितिको आयोजनामा तथा बाक्सा आञ्चलिक समितिको सहयोगमा भलिबल तथा फुटबल प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्रतियोगिता सफल बनाउन धनश्रीपुर गाउँ उन्नयन समितिको उल्लेखनीय सहयोग तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो।

स्थानीय युवाहरूमा खेलकुदप्रति रुचि तथा जागरूकता अभिवृद्धि गर्नुका साथै गाउँ तथा स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ। युवाहरूलाई सकारात्मक, अनुशासित र सिर्जनशील गतिविधितर्फ आकर्षित गर्दै उनीहरूको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यसमेत प्रतियोगिताको रहेको थियो।

भलिबल प्रतियोगितामा जम्मा ९ वटा टोलीले सहभागिता जनाएका थिए। विभिन्न चरणका प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरू पार गर्दै भुटानखुटी SSB टोली र बलाबारी युथ भलिबल टोली फाइनलमा प्रवेश गरेका थिए। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै भुटानखुटी SSB टोलीले विजेता बन्न सफल भयो।

त्यसैगरी, फुटबल प्रतियोगितामा जम्मा ४ वटा टोलीले सहभागिता जनाएका थिए। फाइनल खेल लामीडारा मोतिपुर टोली र धनश्रीपुर टोलीबीच भएको थियो। प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लामीडारा मोतिपुर टोली विजेता बन्न सफल भयो भने धनश्रीपुर टोली उपविजेतामा सीमित रह्यो।

कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु), बाक्सा जिल्ला समितिका सभापति दिपेन्द्र कार्की, स्वयंसेवक भाल कटुवाल, संगठनिक सचिव धर्म भण्डारी, हिमाली आञ्चलिक समितिका सभापति प्रदीप राई तथा मूल–सचिव अजय विश्वकर्मा, असम गोर्खा सम्मेलन, बाक्सा जिल्ला समितिका सभापति नारायण भण्डारी, वरिष्ठ नागरिक तथा समाजसेवी दयानन्द भण्डारीलगायत विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

विशिष्ट अतिथिहरूले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शुभकामना तथा उत्साह प्रदान गर्दै युवाहरूको सर्वाङ्गीण विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे। स्थानीय स्तरमा रहेका प्रतिभाशाली खेलाडीहरूलाई उचित अवसर, प्रशिक्षण र प्रोत्साहन प्रदान गर्न सके उनीहरूले भविष्यमा अझ उच्चस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्ने बताउँदै यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिइयो।

प्रतियोगितामा स्थानीय युवा, खेलाडी, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा खेलप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रम सफल बनाउन धनश्रीपुर गाउँ उन्नयन समितिले पुर्‍याएको सहयोगप्रति आयोजक समितिले विशेष आभार व्यक्त गरेको छ। साथै, प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी, खेलाडी, निर्णायक, स्थानीयवासी तथा शुभेच्छुकहरूप्रति उत्तर बाक्सा शाखा समितिले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

स्वतन्त्रता दिवसको अवसरमा आयोजित यस खेलकुद प्रतियोगिताले युवाहरूमा खेलकुदप्रतिको उत्साह र सकारात्मक सोच अभिवृद्धि गर्नुका साथै आपसी भाइचारा, सामाजिक एकता, अनुशासन तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक समितिले जनाएको छ।

प्रतिवेदक : श्रीमान पवन सोनारी, सूचना एवं प्रविधि सचिव, बाक्सा जिल्ला समिति, आग्सु

📤 Share this story
Last Story in Issue →
Scroll to Top