All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #46
September 3, 2026

सदियामा भइरहेको भूमिसम्बन्धी समस्याबारे CDC समक्ष विस्तृत जानकारी

📅 September 3, 2026
✍️ AAGSU
🕒 12:05 AM

सदिया, २७ अगस्ट २०२६। अखिल असम गोर्खा छात्र संघ (आग्सु), पूर्व सदिया आञ्चलिक समितिका सभापति राजेन छेत्रीको नेतृत्वमा असम गोर्खा सम्मेलन, अखिल असम गोर्खा छात्र संघ (आग्सु) जिल्ला समितिका सांगठनिक सचिव, जिल्ला उपदेष्टा तथा गोर्खा समाजका कतिपय अग्रणी व्यक्तिहरूले सदियामा हालै भइरहेको भूमिसम्बन्धी समस्या तथा आवासीय घर भत्काइएको विषयमा CDC महोदयसमक्ष विस्तृत जानकारी गराउँदै आवश्यक हस्तक्षेपका लागि अनुरोध गरेका छन्।

मिति २७ अगस्ट २०२६ का दिन भएको भेटमा प्रतिनिधिमण्डलले सदियामा उत्पन्न भएको वर्तमान समस्याबारे सम्बन्धित परिवार तथा स्थानीयवासीको अवस्था र उनीहरूको सरोकारका विषयमा CDC महोदयलाई जानकारी गराएको हो।

प्रतिनिधिमण्डलले आवासीय घर भत्काउने कार्यअघि सम्बन्धित जग्गा तथा घरमा बसोबास गरिरहेका व्यक्तिहरूको वास्तविक अवस्था, राजस्व अभिलेख, दाग, पट्टा तथा उत्तराधिकारसम्बन्धी कागजातहरूको उचित परीक्षण गरिनुपर्नेमा जोड दिएको छ। विशेषगरी मूल दाग वा पट्टा धारकका कानुनी उत्तराधिकारी तथा परिवारका सदस्यहरू बसोबास गरिरहेको अवस्थामा उनीहरूको कानुनी अधिकार र दाबीसमेत निष्पक्ष रूपमा जाँच गरिनुपर्ने विषयमा ध्यानाकर्षण गराइएको छ।

ज्ञापनपत्रमार्फत अखिल असम गोर्खा छात्र संघ (आग्सु), पूर्व सदिया आञ्चलिक समितिले सम्बन्धित निकायसमक्ष कानुनबमोजिम आवश्यक प्रक्रिया पूरा गरेर मात्र निष्कासन वा घर भत्काउनेजस्तो कदम चाल्न आग्रह गरेको छ। साथै, प्रभावित परिवारहरूको अवस्था तथा उनीहरूसँग रहेका सम्बन्धित कागजातहरूको निष्पक्ष रूपमा जाँच गरी वास्तविक अवस्था पहिचान गर्नुपर्ने मागसमेत राखिएको छ।

प्रतिनिधिमण्डलले सदियामा भइरहेको समस्याको संवेदनशीलतालाई ध्यानमा राख्दै सम्बन्धित परिवारको अधिकार र हितको संरक्षण गर्दै कानुनसम्मत रूपमा समस्या समाधान गर्न CDC महोदयसमक्ष आग्रह गरेको छ।

भेटका क्रममा उपस्थित प्रतिनिधिहरूले समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिवेदक : राजेन छेत्री, सभापति, पूर्व सदिया आञ्चलिक समिति

📤 Share this story
Scroll to Top