
नाहाररानी, १५ अगस्ट २०२६: ८०औँ भारतीय स्वतन्त्रता दिवसको अवसरमा अखिल असम गोर्खा छात्र संघ (आग्सु), रङ्गापारा आञ्चलिक समितिको आयोजनामा गोरखा भवन, नाहाररानी ग्रेडमा झण्डा उत्तोलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) का जिल्ला सभापति श्री रवि लिम्बू, जिल्लाका प्रमुख स्वयंसेवक श्री बसन्त गुरु, रङ्गापारा आञ्चलिक समितिका सभापति श्रीमती सुनिपा राना, उपसभापति श्रीमती जया प्रधान तथा रङ्गापारा आञ्चलिक समितिका सल्लाहकार श्री राजन सुब्बा लगायत आञ्चलिक समितिका सम्पूर्ण सदस्य तथा स्थानीय जनताको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा राष्ट्रिय झण्डा उत्तोलन गर्दै उपस्थित सबैले देशप्रति सम्मान तथा स्वतन्त्रता सङ्ग्रामका वीर–वीराङ्गनाहरूको योगदानलाई स्मरण गरेका थिए। वक्ताहरूले स्वतन्त्रताको मूल्य, राष्ट्रिय एकता तथा समाज र राष्ट्रप्रतिको जिम्मेवारीबारे आफ्ना विचार व्यक्त गर्दै युवा पुस्तालाई देश निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे।
स्थानीय सदस्य तथा जनताको उत्साहजनक सहभागितासँगै कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रमले राष्ट्रिय भावना, एकता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउने सन्देश दिएको थियो।
प्रतिवेदक : सुनिपा राना–सभापति, रङ्गापारा आञ्चलिक समिति