
बेंतल, चिराङ, 9 सेप्टेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), बेंतल महाविद्यालय इकाइको प्रतिनिधि सभा आज महाविद्यालय इकाइका सभापति श्री विकास कार्कीको सभापतित्वमा सम्पन्न हुन्छ भने सभालाई सञ्चालन महाविद्यालय इकाइकी मूल सचिव सुश्री रिद्धि तामाङले गरेकी थिइन्।
प्रतिनिधि सभामा चिराङ जिल्ला समितिका सभापति श्री निश्चल गिरी मुख्य अतिथिका रूपमा उपस्थित थिए। साथै, सुनगाभा आञ्चलिक समितिका सभापति श्री नवीन थापा, भारप्राप्त मूल सचिव श्री दया लामा, साङ्गठनिक सचिव श्री किरण नेपाल तथा बेंतल शाखा समितिका सभापति श्री रोहित भट्टराई अतिथिका रूपमा उपस्थित थिए।
सभामा महाविद्यालय इकाइको विगतको कार्यसम्पादनको समीक्षा गर्नुका साथै आगामी कार्यकालमा सङ्गठनलाई थप सुदृढ, सक्रिय र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। प्रतिनिधिहरूले विद्यार्थी हित, शैक्षिक विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सङ्गठनको भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रतिनिधि सभाले आगामी कार्यकालका लागि श्री जीवन नेपाललाई सभापति र श्री गोपाल दर्जीलाई मूल सचिव पदमा चयन गरेको छ। साथै, नयाँ नेतृत्वको अगुवाइमा सक्रिय, अनुशासित र सशक्त शाखा समिति गठन गर्दै महाविद्यालयमा विद्यार्थीको हकहित तथा शैक्षिक एवं सामाजिक गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरिएको छ।
नवनिर्वाचित सभापति, मूल सचिवसहित सम्पूर्ण कार्यसमितिलाई उपस्थित अतिथिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। सभाले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै आगामी दिनमा सङ्गठनलाई थप गतिशील बनाउने संकल्पका साथ सम्पन्न भएको थियो।
प्रतिवेदक: नवीन थापा, सभापति, आग्सु, सुनगाभा आञ्चलिक समिति।