All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #48
September 17, 2026

बेङ्गलोरमा गोर्खा वेलफेयर सोसाइटीद्वारा तीज समारोह तथा शपथ ग्रहण अनुष्ठान सम्पन्न।

📅 September 17, 2026
✍️ AAGSU
🕒 12:02 AM

बेङ्गलोर, १६ सेप्टेम्बर: गोर्खा वेलफेयर सोसाइटी, बेङ्गलोरको आयोजनामा हरितालिका तीज समारोह–२०२६ तथा नव निर्वाचित कार्यकारिणी समितिको शपथ ग्रहण अनुष्ठान अम्बालिपुरस्थित हरियाणा भवनमा एकदिवसीय कार्यक्रमका रूपमा सम्पन्न भएको छ।

गोर्खा समुदायको मौलिक कला, संस्कृति, परम्परा तथा सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त समारोहमा अखिल असम गोर्खा छात्र संघ (आग्सू) का केन्द्रीय सभापति श्री नुमल छेत्री प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँसँगै आग्सूका सांगठनिक सचिव श्री किरण खर्का पनि कार्यक्रममा सहभागी हुनुभएको थियो।

समारोहलाई सम्बोधन गर्दै आग्सूका केन्द्रीय सभापति नुमल छेत्रीले आफ्नो जन्मभूमिबाट टाढा रहेर पनि गोर्खा समुदायले आफ्नो मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा पुर्‍याइरहेको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “आफ्नो ठाउँबाट धेरै टाढा बसेर पनि आफ्नो कला र संस्कृतिलाई जोगाएर आएको देखेर हामी अखिल असम गोर्खा छात्र संघको सम्पूर्ण परिवारको तर्फबाट आयोजक समितिलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्दछौँ। आगामी दिनमा पनि यस्ता जातीय हितका कार्यहरू निरन्तर सञ्चालन भइरहून्।”

उहाँले नव निर्वाचित कार्यकारिणी समितिका मुख्य सल्लाहकार श्रीमती सुनिता दाहाल, अध्यक्ष श्री सन्तोष कटेल, मूल सचिव श्री चन्दन शर्मा लगायत सम्पूर्ण कार्यसमितिलाई आग्सूको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा तीजका विभिन्न सांस्कृतिक प्रस्तुति, परम्परागत कार्यक्रम तथा शुभकामना आदानप्रदानसँगै नव निर्वाचित कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका थिए। कार्यक्रममा बेङ्गलोरमा रहेका गोर्खा समुदायका विभिन्न क्षेत्रका प्रतिनिधि, समाजसेवी, महिला तथा युवा वर्गको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमले प्रवासमा रहेर पनि गोर्खा समुदायको भाषा, संस्कृति, परम्परा र सामाजिक एकतालाई निरन्तरता दिने प्रतिबद्धतालाई थप सुदृढ बनाएको आयोजक पक्षले जनाएको छ।

📤 Share this story
Scroll to Top