All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #49
•
September 24, 2026

असमका ढुकढुकी जुबिन गार्गको प्रथम पुण्यतिथि: आग्सु मरिगाउँ जिल्ला समितिद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण

📅 September 24, 2026
✍️ AAGSU
🕒 12:05 AM

मरिगाउँ, १९ सेप्टेम्बर २०२६: असमका प्रसिद्ध तथा लोकप्रिय गायक, संगीतकार र संस्कृतिकर्मी जुबिन गार्गको प्रथम स्मृति दिवस (जुबिन दिवस) को अवसरमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) मरिगाउँ जिल्ला समिति तथा यसअन्तर्गतका विभिन्न आञ्चलिक समितिहरूको संयुक्त आयोजनामा १९ सेप्टेम्बर २०२६ को दिन एक भावपूर्ण श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम मरिगाउँ जिल्ला समितिका सांस्कृतिक सचिव रुद्र थापाज्यूको निवासमा मर्यादित एवं आत्मीय वातावरणका बीच सम्पन्न गरियो।
कार्यक्रमको सुरुवात स्वर्गीय जुबिन गार्गको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्वलन गरी गरियो। उपस्थित पदाधिकारी, सदस्य तथा शुभचिन्तकहरूले स्वर्गीय कलाकारप्रति पुष्पगुच्छा अर्पण गर्दै एक मिनेट मौन धारण गरी दिवंगत आत्माको चीर शान्तिको कामना गरे।
श्रद्धाञ्जली सभामा वक्ताहरूले जुबिन गार्गले असम तथा सम्पूर्ण पूर्वोत्तर भारतको सांगीतिक तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको स्मरण गरे। उहाँ केवल एक गायक मात्र नभएर मानवीय भावना, युवा ऊर्जा र सामाजिक सद्भावका बलिया प्रतीक रहेको चर्चा गरियो।
कार्यक्रमको विशेष क्षणमा उपस्थित सबै पदाधिकारी, सदस्य तथा शुभचिन्तकहरूले एकजुट भई स्वर्गीय जुबिन गार्गका लोकप्रिय तथा कालजयी गीतहरू सामूहिक रूपमा गाएर उहाँप्रति सांगीतिक श्रद्धाञ्जली अर्पण गरे। गीत प्रस्तुत गर्दा उपस्थित सबै भावुक बनेका थिए भने माहोल पूर्ण रूपमा संगीतमय बनेको थियो।
कार्यक्रममा आग्सु मरिगाउँ जिल्ला समितिका पदाधिकारीहरू, विभिन्न आञ्चलिक समितिका प्रतिनिधिहरू तथा स्थानीय संस्कृतिकर्मीहरूको सक्रिय उपस्थिति रहेको थियो। सभाको अन्त्यमा जुबिन गार्गको सांगीतिक विरासत र विचारहरूलाई सधैं जनताको हृदयमा जीवित राख्ने प्रण गरियो।

प्रतिवेदक: आदित्य शर्मा- सुचना एवं प्रविधि सचिव, मरिगाउँ जिल्ला समिति।

📤 Share this story
Scroll to Top