All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #49
•
September 24, 2026

कोक्राझार जिल्ला आग्सु अन्तर्गत विभिन्न आञ्चलिक एवं शाखा समितिहरूमा स्व० जुबिन गर्गप्रति श्रद्धाञ्जली

📅 September 24, 2026
✍️ AAGSU
🕒 12:05 AM

कोक्राझार, १९ सेप्टेम्बर २०२६ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रिय समितिको निर्देशलाई पालना गर्दै कोक्राझार जिल्ला समिति अन्तर्गत रहेका विभिन्न आञ्चलिक( पाटगाउँ, उल्टापानी, सरलपारा,सुनकोश,कोक्राझार, अठीयाबारी, पर्वतझोरा आञ्चलिक तथा जीवन शाखा एवं रञ्जित शाखा समितिहरूको आयोजनामा असमका लोकप्रिय कलाकार, गायक तथा सांस्कृतिक व्यक्तित्व स्व० जुबिन गर्गको पहिलो मृत्यु वार्षिकीमा प श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना गरी भावपूर्ण श्रद्धासुमन अर्पण गरिएको छ।

गत वर्ष 2025 को 19 सेप्टेम्बरको दिन स्व० जुबिन गर्गको निधनले असमको कला, संगीत तथा सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको महसुस गर्दै आग्सुका विभिन्न आञ्चलिक एवं शाखा समितिहरूले उहाँप्रति सम्मान प्रकट गर्दै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका हुन्। कार्यक्रममा संगठनका पदाधिकारी, सदस्य, विद्यार्थी, युवा तथा स्थानीय शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले स्व० जुबिन गर्गको तस्बिरमा माला र पुष्प अर्पण गरी श्रद्धासुमन अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेका थिए। साथै केही समय मौनधारण गरी दिवंगत आत्माप्रति सम्मान व्यक्त गरिएको थियो। सहभागीहरूले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा उहाँका असंख्य प्रशंसकहरूप्रति हार्दिक समवेदना समेत प्रकट गरेका छन्।

कार्यक्रमका क्रममा वक्ताहरूले स्व० जुबिन गर्गले असमको संगीत, कला र सांस्कृतिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानको स्मरण गरेका थिए। उहाँको सिर्जना, संगीतप्रतिको समर्पण तथा असमको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पुर्‍याएको योगदानलाई विशेष रूपमा स्मरण गरिएको थियो। उहाँले आफ्नो कला र संगीतमार्फत विभिन्न समुदायबीचको भावनात्मक सम्बन्धलाई अझ बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि वक्ताहरूले उल्लेख गरेका थिए।

आग्सुका विभिन्न आञ्चलिक एवं शाखा समितिहरूले स्व० जुबिन गर्गको निधनलाई केवल एक कलाकारको निधनका रूपमा मात्र नभई असमको सांस्कृतिक जगत्का लागि ठूलो क्षतिको रूपमा लिँदै उहाँप्रति सम्मान व्यक्त गरेका छन्। उहाँले आफ्नो जीवनकालमा संगीत तथा सांस्कृतिक क्षेत्रमा छोडेर गएको योगदान भावी पुस्ताका लागि समेत स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ।

यस अवसरमा आग्सुका पदाधिकारी तथा सदस्यहरूले स्व० जुबिन गर्गको सांस्कृतिक योगदानलाई सदैव सम्मानपूर्वक स्मरण गरिरहने तथा असमको कला, भाषा, साहित्य र सांस्कृतिक विविधताको संरक्षण र प्रवर्द्धनका लागि आफ्नो तर्फबाट निरन्तर भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

कोक्राझार जिल्ला समिति अन्तर्गतका विभिन्न आञ्चलिक तथा शाखा समितिहरूमा एकै भावनाका साथ आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रमले स्व० जुबिन गर्गप्रति आग्सु परिवारको सम्मान, आत्मीयता र समवेदना प्रकट गरेको छ।

प्रतिवेदक:- भुवन पौडेल-सचिव, कोक्राझार जिल्ला समिति आग्सु

📤 Share this story
Scroll to Top