
ढेकियाजुली, २२ सेप्टेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), शोणितपुर जिल्ला समितिको दोस्रो कार्यकारिणी सभा आज ढेकियाजुलीस्थित क्लासिक रेस्टुरेन्ट हलमा सम्पन्न भयो। जिल्ला समितिका कार्यवाहक सभापति श्री हितेश पराजुलीको सभापतित्वमा सम्पन्न सभाको सञ्चालन कार्यवाहक मूल सचिव श्री चन्द्र गौतमले गर्नुभएको थियो।
सभामा आग्सु केन्द्रीय संगठनिक सचिवद्वय श्री दीपक सुब्बा र श्री किरण खड्काको गरिमामय उपस्थिति रहेको थियो। साथै, जिल्ला समितिका विभिन्न पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
सभामा संगठनको सांगठनिक सुदृढीकरण, आगामी कार्यक्रम तथा विभिन्न महत्वपूर्ण विषयहरूमाथि गहन छलफल, चर्चा–परिचर्चा र समीक्षा गरिएको थियो। संगठनलाई थप व्यवस्थित, सक्रिय तथा प्रभावकारी बनाउँदै आगामी दिनमा अघि बढाउने विषयमा समेत विस्तृत छलफल भएको बताइएको छ।
यसै क्रममा बरसोला र ढेकियाजुली आञ्चलिक समितिसँग आपसी समन्वय, सहमति र समझदारी कायम गर्दै जिल्ला समितिको सांगठनिक गतिविधिलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। स्थानीय तहदेखि जिल्ला तथा केन्द्रीय तहसम्म संगठनात्मक एकता र सहकार्यलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा समेत जोड दिइएको थियो।
सभाको अन्त्यमा जिल्ला समितिमा नवनियुक्त सदस्यहरू श्री पुरुषोत्तम ढुंगेल, श्री रुद्र छेत्री, श्री मनोज भट्टराई, श्री करण छेत्री, श्री प्रह्लाद सुब्बा, श्री प्रतीक भण्डारी र श्री पवन छेत्रीले विधिवत् रूपमा शपथ ग्रहण गर्नुभयो।
नवदायित्व प्राप्त सम्पूर्ण सदस्यहरूलाई संगठनको नीति, उद्देश्य र आदर्शअनुरूप जिम्मेवारी निर्वाह गर्दै संगठनलाई थप सुदृढ बनाउन योगदान पुर्याउने अपेक्षा व्यक्त गरिएको छ। सभाले नवशपथग्रहण सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्पन्न भएको थियो।
प्रतिवेदक: सुश्री पुनम देवी, उप सभानेत्री, आग्सु, शोणितपुर जिल्ला समिति।