
बङ्गाईगाउँ, १९ सेप्टेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), बङ्गाईगाउँ जिल्ला समितिको आयोजनामा स्वरसम्राट जुबिन गार्गको पहिलो स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा आग्सु बङ्गाईगाउँ जिल्ला समितिका सभापति श्री प्रभाकर छेत्रीका साथै जिल्ला समिति तथा आञ्चलिक समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय गाउँ–समाजका नागरिकहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित सहभागीहरूले स्वरसम्राट जुबिन गार्गको तस्बिरमा पुष्पाञ्जली अर्पण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे। सहभागीहरूले कला, संगीत तथा सांस्कृतिक क्षेत्रमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँका अमर सिर्जना तथा सांगीतिक योगदानप्रति सम्मान व्यक्त गरे।
श्रद्धाञ्जली कार्यक्रमका क्रममा जुबिन गार्गको लोकप्रिय गीत ‘मायाबिनी’ सामूहिक रूपमा प्रस्तुत गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गरिएको थियो। सहभागीहरूले उहाँको स्वर, संगीत र सांस्कृतिक योगदान सदैव चिरस्मरणीय रहने तथा उहाँका सिर्जनाहरू पुस्तौँसम्म जनमानसको हृदयमा जीवित रहने स्मरण गरे।
जुबिन गार्गले आफ्नो सिर्जना, स्वर र संगीतका माध्यमबाट असंख्य श्रोताको मनमा विशेष स्थान बनाउनुभएको थियो। उहाँ भौतिक रूपमा हामीमाझ नरहे पनि उहाँका गीत, संगीत र सांस्कृतिक योगदानले उहाँलाई सदैव जीवित राख्ने विश्वास व्यक्त गर्दै कार्यक्रम भावपूर्ण वातावरणमा सम्पन्न भयो।
प्रतिवेदक: श्री योगेश गिरी, सूचना एवं प्रविधि सचिव, आग्सु, बङ्गाईगाउँ जिल्ला समिति।