All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #50
•
October 1, 2026

स्वर्गीय जुबिन गार्गको प्रथम वार्षिक पुण्यतिथिमा AAGSU बाक्सा जिल्ला समितिद्वारा श्रद्धाञ्जली अर्पण

📅 October 1, 2026
✍️ AAGSU
🕒 12:05 AM

बाक्सा, १९ सेप्टेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिको निर्देशनअनुसार असमका लोकप्रिय गायक तथा महान कलाकार स्वर्गीय जुबिन गार्गको प्रथम वार्षिक पुण्यतिथिका अवसरमा बाक्सा जिल्ला समिति तथा अन्तर्गतका विभिन्न आञ्चलिक र शाखा समितिहरूको सहभागितामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ।

सन् २०२५ को १९ सेप्टेम्बरमा सिंगापुरमा भएको स्वर्गीय जुबिन गार्गको असामयिक निधनले सम्पूर्ण असमवासीलाई गहिरो शोकमा डुबाउनुका साथै असमको संगीत तथा कला क्षेत्रमा अपूरणीय क्षति पुर्‍याएको थियो। आफ्नो विशिष्ट स्वर, संगीत र कलामार्फत उहाँले असमको सांस्कृतिक पहिचानलाई देश–विदेशसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिनुभएको थियो।

यसै अवसरमा बाक्सा जिल्ला समितिको पहलमा निकाशीअन्तर्गत बास्का आञ्चलिक समितिको कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बाक्सा जिल्ला समितिका सभापति श्री दीपेन्द्र कार्कीले दीप प्रज्वलन गरी स्वर्गीय जुबिन गार्गप्रति श्रद्धासुमन अर्पण गर्नुभएको थियो। कार्यक्रममा उहाँको स्मृतिमा संगीत प्रस्तुति समेत गरिएको थियो।

कार्यक्रममा उपस्थित वक्ताहरूले स्वर्गीय जुबिन गार्गको जीवन, व्यक्तित्व तथा संगीत क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँका सिर्जना र संगीतले असमको सांस्कृतिक तथा संगीत क्षेत्रमा दीर्घकालीन प्रभाव छोडेको उल्लेख गरे। उहाँका गीत–संगीतले आगामी पुस्तालाई समेत निरन्तर प्रेरणा प्रदान गरिरहने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममार्फत स्वर्गीय जुबिन गार्गप्रति सम्मान तथा श्रद्धा अर्पण गर्दै उहाँले छोडेर जानुभएको कला, संगीत र सांस्कृतिक विरासतलाई आगामी पुस्तासम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिवेदक- पवन सोनारी, सुचना एवं प्रबिधि सचिव बाक्सा जिल्ला समिति

📤 Share this story
Scroll to Top