
हवाईपुर, पश्चिम कार्बी आङलङ, २७ सेप्टेम्बर २०२६: हवाईपुर निवासी तथा हवाईपुर ब्याप्टिस्ट इङ्लिस हाई स्कूलका प्रधानाचार्य श्री कमल छेत्रीकी सुपुत्री रेचल छेत्रीले विद्यावारिधि (PhD) उपाधि हासिल गरी उल्लेखनीय शैक्षिक सफलता प्राप्त गरेकी छन्। उनको यस उपलब्धिले परिवार, आफन्त, शिक्षक, शुभेच्छुक तथा सम्पूर्ण हवाईपुरवासीमा खुसी र गर्वको वातावरण सिर्जना गरेको छ।
उच्च शिक्षाप्रतिको निरन्तर लगाव, कडा मेहनत, लगनशीलता र अनुसन्धानप्रतिको समर्पणका साथ अघि बढ्दै रेचल छेत्रीले विद्यावारिधि उपाधि हासिल गरेकी हुन्। उनको यो सफलता क्षेत्रका विद्यार्थी तथा युवापुस्ताका लागि समेत प्रेरणाको स्रोत बनेको छ।
यसै अवसरमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) पश्चिम कार्बी आङलङ जिल्ला समिति तथा अम्रेङ–कोपिली आञ्चलिक समितिको तर्फबाट रेचल छेत्रीलाई सम्मान तथा अभिनन्दन गरिएको छ। समितिका पदाधिकारी तथा सदस्यहरूले खादा ओढाएर तथा सम्मानपत्र प्रदान गर्दै उनको शैक्षिक उपलब्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
सम्मानका क्रममा समितिका प्रतिनिधिहरूले रेचल छेत्रीको सफलता गोर्खा समुदायका लागि गौरवको विषय भएको उल्लेख गर्दै उनको उपलब्धिले नयाँ पुस्तालाई उच्च शिक्षा, अनुसन्धान तथा ज्ञानको क्षेत्रमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे। साथै, आगामी दिनमा शिक्षा, अनुसन्धान तथा सामाजिक क्षेत्रमा थप योगदान पुर्याउन शुभकामना व्यक्त गरिएको थियो।
रेचल छेत्रीको विद्यावारिधि उपाधि प्राप्तिको सफलताले दृढ इच्छाशक्ति, निरन्तर मेहनत र समर्पणका साथ अघि बढे लक्ष्य हासिल गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ।
प्रतिवेदक : सोनी भुजेल, मूल–सचिव, पश्चिम कार्बी आङलङ जिल्ला समिति