
मरिगाउँ, ५ अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ (AAGSU), मरिगाउँ जिल्ला समिति तथा भर्खरै गठित आग्सु जागीरोड कलेज एकाइको एक संयुक्त प्रतिनिधिमण्डलले आज ५ अक्टोबर २०२६ को दिन जागीरोड महाविद्यालयका प्राचार्य डा. बि. सि. नेओग (Dr. B. C. Neog) ज्यूसँग एक महत्त्वपूर्ण शिष्टाचार भेट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
उक्त भेटघाटको अवसरमा प्रतिनिधिमण्डलले महाविद्यालयका प्राचार्य डा. नेओगलाई परम्परागत खादा अर्पण गरी हार्दिक सम्मान तथा अभिनन्दन ज्ञापन गर्यो। त्यसपश्चात् आयोजित छलफलमा कलेज परिसरभित्र गोर्खा विद्यार्थीहरू लगायत सम्पूर्ण अध्ययनरत विद्यार्थीहरूका विविध शैक्षिक विषय, शैक्षिक वातावरण तथा भविष्यका कार्ययोजनाहरूका बारेमा गहन विचार-विमर्श गरियो।
छलफलको क्रममा विद्यार्थी संगठनका प्रतिनिधिहरूले कलेजमा विद्यार्थी हित, गुणस्तरीय शिक्षाको प्रवर्द्धन, अनुशासन र रचनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउन संगठनको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। साथै, आगामी दिनहरूमा पनि विद्यार्थीहरूको सुनौलो भविष्यका निम्ति कलेज प्रशासन र नेतृत्वसँग यस्तै निरन्तर सहकार्य कायम रहने विश्वास व्यक्त गरियो।
उक्त कार्यक्रममा आग्सु मरिगाउँ जिल्ला समितिका पदाधिकारीहरू, जागीरोड कलेज एकाइका नवनिर्वाचित प्रतिनिधिहरू तथा ठूलो संख्यामा विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो।
प्रतिवेदक: आदित्य शर्मा- सुचना एवं प्रविधि सचिव, मोरिगाउँ जिल्ला समिति।