
बोकाजान, ११ अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), कार्बी आङलङ जिल्ला समितिको आयोजनामा तथा जिल्ला समितिअन्तर्गतका आञ्चलिक र शाखा समितिहरूको सहकार्यमा आग्सु केन्द्रीय समितिको मार्गदर्शनमा ११ अक्टोबर २०२६ का दिन बोकाजानस्थित ग्रीन भ्याली सिनियर सेकेन्डरी स्कुलमा एक दिवसीय सांगठनिक कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। संगठनको सांगठनिक संरचनालाई थप सुदृढ बनाउने, जिल्ला, आञ्चलिक तथा शाखा समितिहरूबीच समन्वय अभिवृद्धि गर्ने र संगठनमा आबद्ध कार्यकर्ता तथा सदस्यहरूको सांगठनिक ज्ञान, नेतृत्व क्षमता एवं कार्यकुशलता विकास गर्ने उद्देश्यले उक्त कार्यशालाको आयोजना गरिएको थियो।
सर्वप्रथम दीप प्रज्वलन, उद्घाटन तथा स्वागत कार्यक्रमसँगै कार्यशालाको औपचारिक सुरुवात गरिएको थियो। त्यसपछि कार्यशालाको उद्देश्य, नियमावली तथा कार्यक्रम तालिकाबारे सहभागीहरूलाई जानकारी गराइएको थियो। दिनभरि सञ्चालन भएको उक्त कार्यशालामा संगठनको इतिहास, परिचय, लक्ष्य तथा उद्देश्य, संविधानका महत्वपूर्ण प्रावधान, सांगठनिक अनुशासन, नेतृत्व क्षमता, सभा सञ्चालन, पदाधिकारीहरूको कार्यपद्धति, सार्वजनिक वक्तृत्वकला, व्यक्तित्व विकास तथा संगठनको डिजिटलाइजेसनसम्बन्धी विभिन्न महत्वपूर्ण विषयमा पाँचवटा प्रशिक्षण सत्र सञ्चालन गरिएका थिए।
कार्यशालाको पहिलो सत्र ‘आग्सु परिचय तथा सांगठनिक आधार’ विषयमा केन्द्रित रहेको थियो। उक्त सत्र आग्सुका उपसभापति श्री राजु बजगाईले सञ्चालन गर्नुभएको थियो। सत्रमा आग्सुको इतिहास, परिचय, भूमिका, लक्ष्य तथा उद्देश्य, संविधानका महत्वपूर्ण बुँदाहरू र सांगठनिक अनुशासन एवं आदर्शबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। संगठनको आधारभूत सिद्धान्त र उद्देश्यलाई आत्मसात् गर्दै प्रत्येक कार्यकर्ताले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिइएको थियो।
दोस्रो सत्र ‘सांगठनिक प्रोटोकल तथा नेतृत्व क्षमता’ विषयमा सञ्चालन गरिएको थियो। आग्सुका उपसभापति श्री खगेन्द्र थापाले प्रशिक्षण दिनुभएको उक्त सत्रमा सांगठनिक पोसाक, मञ्च व्यवस्थापन, सम्मान तथा सम्बर्द्धना प्रदान गर्ने विधि, अतिथि सत्कार र समय व्यवस्थापनजस्ता महत्वपूर्ण विषय समेटिएका थिए। संगठनका विभिन्न कार्यक्रम, सभा तथा समारोहलाई व्यवस्थित, मर्यादित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न आवश्यक प्रोटोकल तथा नेतृत्वसम्बन्धी सीपबारे सहभागीहरूलाई जानकारी गराइएको थियो।
त्यसैगरी, तेस्रो सत्र ‘सभा सञ्चालन तथा पदाधिकारीहरूको कार्यपद्धति’ विषयमा केन्द्रित रहेको थियो। आग्सुका मूल–सचिव श्री सोमराज सोनारले सञ्चालन गर्नुभएको उक्त सत्रमा सांगठनिक सभा सञ्चालन गर्ने विधि, सभापति तथा मूल–सचिवको भूमिका र जिम्मेवारी, मुख्य उपदेष्टा, उपदेष्टा, उपसभापति, सचिवलगायत अन्य पदाधिकारीहरूको कार्यक्षेत्र तथा दायित्वबारे प्रशिक्षण प्रदान गरिएको थियो। साथै, सभाको उद्देश्य स्पष्ट पार्ने, कार्यसूची प्रस्तुत गर्ने र बैठकलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन गर्ने प्रक्रियाबारे पनि विस्तृत जानकारी दिइएको थियो।
दिउँसो भोजन तथा विश्रामपछि कार्यशालाको चौथो सत्र सञ्चालन गरिएको थियो। ‘सार्वजनिक वक्तृत्वकला तथा व्यक्तित्व विकास’ शीर्षकमा आयोजित उक्त सत्र आग्सुका पूर्व शिक्षा सल्लाहकार श्री रोशन गुरुङले सञ्चालन गर्नुभएको थियो। सत्रमा माइकमा बोल्ने कला, प्रभावकारी भाषण गर्ने तरिका, उद्घाटन तथा स्वागत मन्तव्य प्रस्तुत गर्ने विधि, शुभकामनामूलक मन्तव्य, कार्यक्रम सञ्चालन अर्थात् एङ्करिङ, तर्क तथा बहस गर्ने तरिका र सांगठनिक प्रोटोकलबारे प्रशिक्षण प्रदान गरिएको थियो। संगठनका प्रतिनिधिका रूपमा विभिन्न सभा, समारोह तथा सार्वजनिक कार्यक्रममा सहभागी हुँदा आत्मविश्वासका साथ आफ्ना विचार प्रस्तुत गर्न सक्ने क्षमता विकास गर्नु यस सत्रको प्रमुख उद्देश्य रहेको थियो।
कार्यशालाको पाँचौँ तथा महत्वपूर्ण सत्र ‘आग्सुको डिजिटलाइजेसन, सामाजिक सञ्जाल तथा ई–बुलेटिन’ विषयमा सञ्चालन गरिएको थियो। आग्सुका सांगठनिक सचिव श्री किरण खर्काले उक्त सत्र सञ्चालन गर्नुभएको थियो। सत्रमा संगठनको डिजिटलाइजेसनको अवधारणा, आग्सुको आधिकारिक वेबसाइटको प्रयोग, वेबसाइटमा सांगठनिक विवरण अद्यावधिक गर्ने प्रक्रिया, आग्सु ई–बुलेटिनका लागि समाचार तथा प्रतिवेदन तयार गर्ने विधि, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार र पोस्टर डिजाइनिङसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
संगठनका गतिविधिहरूलाई डिजिटल माध्यमबाट व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने, समितिहरूको विवरण अद्यावधिक राख्ने, कार्यक्रमका समाचार तथा प्रतिवेदनलाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने र सामाजिक सञ्जालको माध्यमबाट संगठनका गतिविधि व्यापक रूपमा प्रचारप्रसार गर्ने विषयमा विशेष जोड दिइएको थियो। वर्तमान डिजिटल युगमा प्रविधिको उचित प्रयोगले संगठनको पारदर्शिता, सूचना प्रवाह तथा आन्तरिक समन्वयलाई थप प्रभावकारी बनाउन सक्ने कुरालाई प्रशिक्षणका क्रममा स्पष्ट पारिएको थियो।
पाँचवटै प्रशिक्षण सत्र सम्पन्न भएपछि अपराह्न ४ बजेदेखि ४:५० बजेसम्म अन्तरक्रिया तथा खुला छलफल कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा सहभागीहरूले संगठन सञ्चालनका क्रममा सामना गर्नुपरेका समस्या, जिज्ञासा तथा चुनौतीहरू प्रस्तुत गर्नुका साथै संगठनलाई थप सुदृढ बनाउने विषयमा आफ्ना सुझावहरू राखेका थिए। खुला छलफलले जिल्ला, आञ्चलिक तथा शाखा समितिहरूबीच आपसी समझदारी, समन्वय र सहकार्यलाई थप मजबुत बनाउने अवसर प्रदान गरेको थियो।
कार्यशालाको अन्तिम चरणमा कार्यक्रमको निष्कर्ष प्रस्तुत गर्दै सहभागीहरूलाई प्रशिक्षणका क्रममा प्राप्त ज्ञान तथा सीपलाई आ–आफ्नो समितिमा व्यवहारमा उतार्न आह्वान गरिएको थियो। संगठनको उद्देश्य प्राप्तिका लागि अनुशासन, एकता, जिम्मेवारीबोध, सामूहिक नेतृत्व र प्रभावकारी कार्यसम्पादन आवश्यक रहेको विषयमा जोड दिँदै कार्यक्रम समापन गरिएको थियो।
यस अवसरमा कार्बी आङलङ जिल्ला समितिले कार्यशालालाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्याउनुहुने आग्सुका उपसभापतिद्वय श्री खगेन्द्र थापा र श्री राजु बजगाई, मूल–सचिव श्री सोमराज सोनार, सांगठनिक सचिव श्री किरण खर्का तथा पूर्व शिक्षा सल्लाहकार श्री रोशन गुरुङप्रति हार्दिक आभार व्यक्त गरेको छ। उहाँहरूको अनुभव, मार्गदर्शन र प्रशिक्षणले कार्यकर्ताहरूको सांगठनिक ज्ञान तथा नेतृत्व क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको जिल्ला समितिले जनाएको छ।
समग्रमा, कार्बी आङलङ जिल्ला समितिद्वारा आयोजित उक्त सांगठनिक कार्यशाला संगठनलाई थप अनुशासित, सक्षम, व्यवस्थित तथा प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण पहलका रूपमा रहेको छ। जिल्ला, आञ्चलिक तथा शाखा समितिका कार्यकर्ताहरूलाई एउटै मञ्चमा ल्याएर सांगठनिक ज्ञान आदानप्रदान गर्ने, नेतृत्व क्षमता विकास गर्ने र कार्यपद्धतिमा एकरूपता ल्याउने उद्देश्यले आयोजित यस कार्यक्रमले आग्सुको भावी सांगठनिक विकासका लागि सकारात्मक आधार तयार गरेको छ। कार्यशालाबाट प्राप्त ज्ञान, अनुभव तथा मार्गदर्शनलाई व्यवहारमा कार्यान्वयन गर्दै गोर्खा समुदायको हित, अधिकार र आकाङ्क्षाको पक्षमा अझ प्रभावकारी ढङ्गले काम गर्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको छ।
प्रतिवेदक : अजित राइ-सांगठनिक सचिव, कार्वि आङलङ जिल्ला समिति।