
उदालगुडी, ९ अक्टोबर २०२६: स्वर्गीय हिमाश्री बोरोको न्यायको माग गर्दै ९ अक्टोबर २०२६ का दिन अखिल बोडो विद्यार्थी संघ (ABSU) द्वारा आयोजित राज्यव्यापी मैनबत्ती प्रज्वलन तथा मौन धर्ना कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) उदालगुडी जिल्ला समितिको तर्फबाट सहभागिता जनाइएको छ।
उक्त कार्यक्रममा आग्सु उदालगुडी जिल्ला समितिका उपसभापति दीपक अधिकारी, सचिव मनोज कुमार राउत, संगठन सचिव सुरज छेत्री तथा कार्यकारिणी सदस्य ब्रह्म उपाध्यायको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी हुँदै समितिले स्वर्गीय हिमाश्री बोरोप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई न्याय प्रदान गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गरेको छ।
यस दुःखद घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिनुपर्नेमा जोड दिँदै आग्सु उदालगुडी जिल्ला समितिले न्याय सुनिश्चित गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।
समितिले स्वर्गीय हिमाश्री बोरोप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, पीडित परिवारले न्याय पाउनुपर्ने मागप्रति ऐक्यबद्धता प्रकट गरेको छ।
प्रतिवेदक : मनोज कुमार राउत, सचिव, उदालगुडी जिल्ला समिति