
उदालगुडी, ०९ अक्टोबर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), उदालगुडी जिल्ला समितिको ४३औं कार्यकालको प्रथम कार्यकारिणी सभा ९ अक्टोबर २०२६ का दिन अपराह्न ३ बजे जिल्ला समिति कार्यालय परिसरमा सम्पन्न भयो। जिल्ला समितिका सभापति श्री बिकाश भट्टराईको सभापतित्वमा आयोजित सभाको उद्देश्यबारे मूल सचिव श्री रूपम आत्रेयले जानकारी गराउनुभएको थियो।
सभामा आग्सु केन्द्रीय समितिका सांस्कृतिक सचिव श्री त्रिदेव विष्ट, केन्द्रीय कार्यकारिणी सदस्य श्री राम छेत्री, क्षेत्रीय समितिका सभापति श्री रोहित कुमार दाहाल, वित्त सचिव श्री मणिराज क्षेत्री, सांस्कृतिक सचिव श्री हेमन्त क्षेत्रीलगायत जिल्ला समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सभामा जिल्लाको शैक्षिक विकास, सङ्गठनलाई थप बलियो बनाउने, विभिन्न विभागको जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्ने तथा आगामी दुई वर्षका लागि कार्ययोजना तयार गर्ने विषयमा विस्तृत छलफल गरियो। छलफलपछि सभाले महत्त्वपूर्ण प्रस्ताव सर्वसम्मतिले पारित गर्यो।
पहिलो प्रस्तावअन्तर्गत जिल्ला समितिको साङ्गठनिक संरचनालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले ब्रह्म उपाध्याय, गोविन्द छेत्री र धर्मेन्द्र गौतमलाई जिल्ला कार्यकारिणी समितिको सदस्यका रूपमा मनोनयन गर्ने निर्णय गरियो।
दोस्रो प्रस्तावअनुसार जिल्ला समितिमा रिक्त रहेका पदहरूमा सदस्यहरूलाई जिम्मेवारी प्रदान गर्दै दीपक अधिकारी र सञ्जीव चौहानलाई उपसभापति, पदम राउत र राजीव शर्मालाई प्रचार सचिव, गङ्गा छेत्रीलाई मुखपत्र सचिव, मनिष लिम्बू र केशर छेत्रीलाई स्वास्थ्य विभाग संयोजक तथा गोविन्द छेत्री र तपन शर्मालाई सह-सांस्कृतिक सचिवको जिम्मेवारी दिने निर्णय गरियो।
तेस्रो प्रस्तावमा जिल्ला समितिका पूर्वसभापति श्री किशोर काश्यपलाई जिल्ला समितिको मुख्य सल्लाहकारको रूपमा नियुक्त गर्ने निर्णय सभाले सर्वसम्मतिले पारित गर्यो।
चौथो प्रस्तावअन्तर्गत जिल्ला शिक्षा सचिव श्री सञ्जय छेत्रीले प्रस्तुत गर्नुभएको शैक्षिक विकाससम्बन्धी अवधारणा र प्रस्तावमाथि छलफल गर्दै जिल्लाभित्रका शैक्षिक गतिविधिलाई योजनाबद्ध रूपमा अघि बढाउन जिल्ला शिक्षा विभाग गठन गर्ने निर्णय गरियो। उक्त विभागमा श्री सञ्जय छेत्री, श्री दीपक अधिकारी, श्री नव शर्मा, श्री मनोज कुमार राउत र श्री पदम राउतलाई समावेश गरिएको छ।
पाँचौँ प्रस्तावमा जिल्ला समितिको आर्थिक कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन सभापति र मूल सचिवको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुने गरी बैंक खाता खोल्ने निर्णय गरियो।
छैटौँ प्रस्तावअनुसार जिल्ला कार्यालयमा हुने विद्युत् आपूर्तिको समस्यालाई ध्यानमा राख्दै कार्यालयको दैनिक कामकाज सहज रूपमा सञ्चालन गर्न इन्भर्टर खरिद गर्ने निर्णय गरियो। यसका लागि उपस्थित नेतृत्ववर्गबाट प्रतिव्यक्ति न्यूनतम ५०० रुपैयाँ सहयोग सङ्कलन गर्ने र आवश्यक व्यवस्थापनको जिम्मेवारी सचिव श्री मनोज कुमार राउतलाई दिने प्रस्ताव पारित गरियो।
सातौँ प्रस्तावमा जिल्ला समितिअन्तर्गत शिक्षा, सङ्गठन, खेलकुदलगायत विभिन्न विभागका सचिवहरूलाई आगामी दुईवर्षे कार्यकालका लागि आफ्नो विभागको स्पष्ट कार्ययोजना, लक्ष्य र प्राथमिकता लिखित रूपमा तयार गरी आगामी कार्यकारिणी सभामा पेस गर्न निर्देशन दिने निर्णय गरियो।
सभाले जिल्लाभित्र शैक्षिक गतिविधिलाई विस्तार गर्ने, सङ्गठनलाई तल्लो तहसम्म बलियो बनाउने, आर्थिक कारोबारमा पारदर्शिता कायम गर्ने तथा सबै विभागलाई जिम्मेवार र सक्रिय बनाउने विषयमा जोड दिएको छ।
नवगठित जिल्ला समितिको पहिलो कार्यकारिणी सभाले आगामी दुई वर्षका लागि आवश्यक योजना र जिम्मेवारी तय गर्दै विद्यार्थीहरूको हित तथा शैक्षिक र साङ्गठनिक विकासका क्षेत्रमा प्रभावकारी काम गर्ने दिशामा महत्त्वपूर्ण निर्णय गरेको छ।
प्रतिवेदक: श्री सञ्जय छेत्री, शिक्षा सचिव, उदालगुडी जिला समिति।