
हाफ्लोङ, १२ अक्टोबर २०२६ (सोमबार): अखिल असम गोर्खा विद्यार्थी संघ (AAGSU), हाफ्लोङ कलेज एकाइको आयोजनामा १२ अक्टोबर २०२६, सोमबारका दिन २२औँ गोर्खा फ्रेशर्स मिट–२०२६ भव्यताका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरू, कलेज एकाइका समितिका पदाधिकारीहरू, विभिन्न संघ-संगठनका प्रतिनिधिहरू तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भ प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य आमन्त्रित अतिथिहरूको आगमनसँगै भएको थियो। तत्पश्चात् हाम्रो भाषा, संस्कृति, पहिचान र गौरवको संरक्षणका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने वीर सहिदहरूको सम्झनामा दीप प्रज्वलन तथा मैनबत्ती बालेर उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा सहायक प्राध्यापक श्रीमती नन्दा देवी, नगरपालिका बोर्डका उपाध्यक्ष तथा AAGSU दिमा हसाओ जिल्ला समितिका अध्यक्ष श्री केशव शर्मा, श्री उत्तम घर्ती, सल्लाहकार श्री सिद्धार्थ पाण्डे तथा AAGSU दिमा हसाओ जिल्ला समितिका उपाध्यक्ष श्री बिशाल शर्माको उपस्थिति रहेको थियो। साथै, विभिन्न संघ-संगठनका प्रतिनिधिहरू तथा अन्य आमन्त्रित अतिथिहरूको पनि सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, मनोरञ्जनात्मक गतिविधिहरू तथा नवआगन्तुक विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गरिएको थियो। विद्यार्थीहरूले आफ्नो कला, प्रतिभा र सिर्जनशीलता प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक र स्मरणीय बनाएका थिए।
फ्रेशर्स प्रतियोगितामा जम्मा २८ जना प्रतियोगीहरूले सहभागिता जनाएका थिए। प्रतियोगिताको निष्पक्ष मूल्याङ्कन तथा उत्कृष्ट प्रतिभाको छनोटका लागि निर्णायक मण्डलमा श्री बिक्रम जोगी, श्री बिकास साई, सुश्री कुसुम पाण्डे तथा सुश्री मनाली थापा रहनुभएको थियो। निर्णायक मण्डलको मूल्याङ्कनपछि निम्न प्रतियोगीहरू विजेता घोषित हुनुभएको थियो।
प्रतियोगिताका विजेताहरू
१. Mr. Fresher: श्री अनिश थापा
२. Mrs. Fresher: सुश्री गायत्री जोशी
३. Best Performer: सुश्री नेहा जोशी
कार्यक्रम साँझ करिब ९ बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रमको समापन सत्रमा AAGSU हाफ्लोङ कलेज एकाइका महासचिव श्री उज्ज्वल जोशीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। उहाँले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरू, नवआगन्तुक विद्यार्थीहरू, निर्णायक मण्डल, कलाकारहरू, विभिन्न संघ-संगठनका प्रतिनिधिहरू तथा कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
२२औँ गोर्खा फ्रेशर्स मिट–२०२६ केवल नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रम मात्र नभई गोर्खा समुदायको भाषा, संस्कृति, परम्परा, पहिचान र एकतालाई प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा रहेको थियो। यस कार्यक्रमले नवआगन्तुक विद्यार्थीहरूलाई कलेजको वातावरणसँग परिचित गराउनुका साथै उनीहरूबीच आपसी सद्भाव, मित्रता, सहकार्य र एकताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउनुहुने सम्पूर्ण अतिथि, विद्यार्थी, संघका पदाधिकारी तथा सदस्यहरूप्रति AAGSU हाफ्लोङ कलेज एकाइ हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।
प्रतिवेदक : उज्ज्वल जैसी–IT सचिव, आग्सु दिमा हसाओ जिल्ला समिति