
तामुलपुर, २ नोभेम्बर: तामुलपुर सदर आञ्चलिक समितिको पहल तथा तत्त्वावधानमा तामुलपुर डिग्री कलेजमा महाविद्यालयको इतिहासमै पहिलोपटक अखिल असम गोर्खा छात्र संघ (आग्सु) को एकाइ समिति गठन गरिएको छ।
तामुलपुर सदर आञ्चलिक समितिका सभापति नारायण गौतमको सभापतित्वमा सम्पन्न गठनसभामा विद्यार्थीहरूको हक–हितको संरक्षण, शैक्षिक वातावरणको विकास, विद्यार्थीबीच एकता र सङ्गठनात्मक चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नयाँ एकाइ समिति गठन गरिएको हो।
उक्तसभाले प्रतीक बसनेतलाई सभापति र गीताञ्जली थापालाई मूलसचिवको जिम्मेवारी प्रदान गर्दै नयाँ कार्यसमिति चयन गरेको छ।
महाविद्यालयमा आग्सुको एकाइ गठन हुनु विद्यार्थीहरूको सङ्गठनात्मक सहभागिता विस्तार गर्ने तथा उनीहरूका शैक्षिक, सामाजिक एवं समग्र विकासका सवाललाई संस्थागत रूपमा उठान गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
यस अवसरमा तामुलपुर सदर आञ्चलिक समितिले नवनिर्वाचित सभापति, मूलसचिवसहित सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेको छ।
नवगठित समितिले विद्यार्थीहरूको हक–हितको संरक्षण, आपसी एकता, शैक्षिक उन्नयन तथा सङ्गठनको उद्देश्य र आदर्शलाई आत्मसात् गर्दै जिम्मेवारीपूर्वक कार्य गर्ने विश्वाससमेत आञ्चलिक समितिले व्यक्त गरेको छ।
प्रतिवेदक: नारायण गौतम, सभापति, तामुलपुर सदर आञ्चलिक समिति।