All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #57
•
November 19, 2026

गोर्खा सांस्कृतिक उत्सव–२०२६ सफलतापूर्वक सम्पन्न गर्न रुनिखातामा तयारी बैठक सम्पन्न

📅 November 19, 2026
✍️ AAGSU
🕒 10:07 AM

रुनिखाता, १८ नोभेम्बर: रुनिखाता महाविद्यालय आग्सु एकाइको आयोजनामा आगामी २२ नोभेम्बर २०२६, आइतबारका दिन रुनिखाता उच्चतर माध्यमिक विद्यालयको प्रेक्षागृहमा आयोजना हुन गइरहेको गोर्खा सांस्कृतिक उत्सव–२०२६ (नृत्य तथा सांस्कृतिक प्रतियोगिता) लाई सफल, व्यवस्थित एवं भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यले एक महत्वपूर्ण तयारी तथा छलफल बैठक सम्पन्न भएको छ।

रुनिखाता महाविद्यालय आग्सु एकाइकी सभापति सुश्री नरमाया विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त बैठकमा एकाइका मूल सचिव श्री केशव घिमिरेले कार्यक्रमको उद्देश्य, औचित्य तथा महत्वमाथि प्रकाश पार्दै आफ्नो मन्तव्य राख्नुभएको थियो। उहाँले गोर्खा समुदायको मौलिक भाषा, कला, संस्कृति, परम्परा तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो।

बैठकमा अतिथिका रूपमा अखिल असम गोर्खा छात्र संघ (आग्सु), चिराङ जिल्ला समितिका सभापति श्री निश्चल गिरी, सुनगाभा आञ्चलिक समिति आग्सुका सभापति श्री नबिन थापा, मूल सचिव श्री बुद्ध लामा तथा सह-सचिव श्री दया लामाको गरिमामय उपस्थिति रहेको थियो।

छलफलका क्रममा आगामी सांस्कृतिक उत्सवलाई सफल बनाउन आवश्यक पूर्वतयारी, कार्यक्रम व्यवस्थापन, सहभागीहरूको समन्वय, सांस्कृतिक प्रस्तुतिको गुणस्तर, प्रतियोगिताको सञ्चालन प्रक्रिया तथा विभिन्न सांगठनिक जिम्मेवारीहरूका विषयमा विस्तृत विचार-विमर्श गरिएको थियो। साथै, कार्यक्रमलाई अनुशासित, व्यवस्थित र आकर्षक बनाउन सम्बन्धित सबै पक्षबीच आपसी समन्वय, सहकार्य र सक्रिय सहभागिता आवश्यक रहेको विषयमा जोड दिइएको थियो।

गोर्खा सांस्कृतिक उत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई नयाँ पुस्तामा आफ्नो मौलिक संस्कृति, परम्परा, लोककला तथा सांस्कृतिक मूल्यप्रति चेतना अभिवृद्धि गर्ने महत्वपूर्ण साझा मञ्चका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिएको थियो। विशेषगरी विद्यार्थी तथा युवापुस्ताको प्रतिभा प्रस्फुटन गराउनुका साथै गोर्खा समुदायको समृद्ध सांस्कृतिक विरासतलाई संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको जनाइएको छ।

बैठकमा उपस्थित पदाधिकारी तथा प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउन आ-आफ्नो तर्फबाट आवश्यक सहयोग, समन्वय र जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिवेदक : नबिन थापा–सभापति,सुनगाभा आञ्चलिक समिति,

📤 Share this story
Last Story in Issue →
Scroll to Top