All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #57
•
November 19, 2026

संस्कृति संरक्षण तथा परम्पराको निरन्तरताका लागि आग्सु बङ्गाईगाउँ जिल्ला समितिको तीन दिवसीय देउसी–भैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न

📅 November 19, 2026
✍️ AAGSU
🕒 12:05 AM

बङ्गाईगाउँ, ९ नोभेम्बर २०२६: आफ्नो मौलिक भाषा, संस्कृति, परम्परा तथा रीतिरिवाजको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यका साथ अखिल असम गोर्खा छात्र संघ (आग्सु), बङ्गाईगाउँ जिल्ला समितिको पहलमा आयोजित तीन दिवसीय देउसी–भैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बङ्गाईगाउँ जिल्ला समितिको अधीनस्थ बङ्गाईगाउँ टाउन आञ्चलिक समिति तथा किशान बजार आञ्चलिक समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त सांस्कृतिक कार्यक्रममा जिल्ला अन्तर्गतका विभिन्न आञ्चलिक समितिहरूको सक्रिय सहभागिता रहेको थियो।

गोर्खा समुदायको मौलिक सांस्कृतिक पहिचान बोकेको देउसी–भैलो परम्परालाई जीवन्त राख्दै नयाँ पुस्तामाझ यसको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्त्व स्थापित गर्ने मूल उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको थियो। तीन दिनसम्म चलेको यस अभियानका क्रममा संगठनका पदाधिकारी, सदस्य तथा सांस्कृतिक टोलीले विभिन्न स्थानमा रहेका संगठनका सदस्यहरूका घर–घरमा पुगेर परम्परागत रूपमा देउसी–भैलो प्रस्तुत गरेका थिए। परम्परागत भाका, लय, शब्द तथा सांस्कृतिक प्रस्तुतिमार्फत नेपाली गोर्खा समुदायको मौलिक सांस्कृतिक विरासतलाई उजागर गर्ने प्रयास गरिएको थियो।

आधुनिकताको बढ्दो प्रभावसँगै कतिपय मौलिक सांस्कृतिक अभ्यासहरू क्रमशः ओझेलमा पर्दै गइरहेको वर्तमान परिवेशमा यस्ता कार्यक्रमले आफ्नो सांस्कृतिक पहिचानप्रति नयाँ पुस्तालाई सचेत गराउनुका साथै परम्पराको पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास आयोजक समितिले व्यक्त गरेको छ। संस्कृति कुनै एक पुस्ताको सम्पत्ति मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको साझा धरोहर भएकाले यसको संरक्षण र निरन्तरताका लागि सामूहिक प्रयास आवश्यक रहेको सन्देशसमेत यस अभियानमार्फत प्रवाह गरिएको थियो।

यस कार्यक्रमले सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याउनुका साथै संगठनभित्र आपसी आत्मीयता, भाइचारा, सद्भाव, एकता तथा पारिवारिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसरसमेत प्रदान गरेको थियो। सदस्यहरूका घर–घरमा पुगेर देउसी–भैलो खेल्ने क्रममा संगठन र सदस्य परिवारबीचको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सामूहिकताको भावना अभिवृद्धि गर्ने वातावरण सिर्जना भएको थियो।

आगामी दिनहरूमा पनि मौलिक भाषा, साहित्य, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न रचनात्मक एवं सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता आग्सु बङ्गाईगाउँ जिल्ला समितिले व्यक्त गरेको छ।

प्रतिवेदक : योगेश गिरी-सूचना एवं प्रविधि सचिव,बङ्गाईगाउँ जिल्ला समिति

📤 Share this story
Scroll to Top