All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #12
January 8, 2026

केन्द्रीय सभापति सुनिल छेत्रीको सशक्त मार्गदर्शनमा कोक्राझार जिल्ला समितिको १९ औं द्वि–वार्षिक अधिवेशनको आम सभा सम्पन्न

📅 January 8, 2026
✍️ AAGSU
🕒 12:01 AM

कोक्राझार, ४ जनुवारी: असम गोर्खा छात्र संघ, कोक्राझार जिल्ला समितिको १९ औं द्वि–वार्षिक अधिवेशनको आम सभा मिति ४ जनवरी २०२६, आइतबारका दिन कोक्राझार जिल्लाको ऐतिहासिक क्षेत्र उल्टापानी–लाबन्यपुरमा भव्य, शान्तिपूर्ण र अनुशासित वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। दुई दिने विविध कार्यसूचीले समेटिएको यस अधिवेशनको दोस्रो दिन आम सभा आयोजना गरिएको थियो, जसले संगठनात्मक एकता, वैचारिक स्पष्टता र भावी कार्यदिशालाई थप मजबुत बनाएको छ।
दोस्रो दिनको कार्यक्रम बिहान सामूहिक सरसफाइबाट सुरु भई औपचारिक आम सभामार्फत अघि बढेको थियो। आम सभा पूर्व आयोजित सांस्कृतिक शोभायात्रा कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको थियो। शोभायात्रामा गोर्खाली महाजातिका विभिन्न संस्कृतिको झलक प्रस्तुत गर्दै गोर्खा महाजातिको एकता र पहिचानको उत्कृष्ट प्रदर्शन गरिएको थियो। उक्त आम सभाको उद्घाटन उल्टापानी VCDC का अध्यक्ष गोपाल चन्द्र लोहल तथा सरलपारा VCDC का अध्यक्ष सूर्य कार्कीले संयुक्त रूपमा गर्नुभएको थियो।
यस ऐतिहासिक अवसरमा केन्द्रिय समिति आग्सुका सभापति श्रीमान सुनिल छेत्री मुख्य अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। सभापति छेत्रीले आम सभालाई सम्बोधन गर्दै अखिल असम गोर्खा छात्र संघ केवल विद्यार्थी संगठन मात्र नभई सम्पूर्ण गोर्खा समाजको अधिकार, पहिचान र अस्तित्वको रक्षाका लागि निरन्तर संघर्षरत एक सशक्त आन्दोलन भएको स्पष्ट पार्नुभयो। उहाँले संगठनको विगतका संघर्ष, वर्तमान दायित्व र भविष्यका चुनौतीबारे गहिरो प्रकाश पार्दै कोक्राझार जिल्ला जस्तो संवेदनशील र बहुजातीय क्षेत्रमा गोर्खा समुदायले एकता, अनुशासन र सद्भाव कायम गर्दै अघि बढ्नुपर्नेमा विशेष जोड दिनुभयो।
सभापति सुनिल छेत्रीले नवगठित कोक्राझार जिल्ला समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संगठनलाई जनमुखी, विद्यार्थीमुखी र समाजसेवामुखी बनाउँदै लैजान आग्रह गर्नुभयो। उहाँले युवाहरूलाई संगठनको मेरुदण्डको रूपमा चित्रित गर्दै शिक्षा, नेतृत्व विकास र सामाजिक चेतनाको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्नुभयो। उहाँको स्पष्ट, दृढ र प्रेरणादायी मन्तव्यले उपस्थित जनसमुदायमा उत्साह र आत्मविश्वास थपेको थियो।


आम सभामा निर्दिष्ट वक्ताका रूपमा केन्द्रिय समिति आग्सुका मूल–सचिव नुमल छेत्रीले संगठनको सांगठनिक संरचना, विधान र भावी कार्यक्रमबारे आफ्नो बहुमूल्य मन्तव्य प्रस्तुत गर्नुभयो। साथै, केन्द्रिय समिति आग्सुका उप–सभापति सञ्जीव चौहान, सूचना एवं प्रविधि सचिव किरण खड्का, सांगठनिक सचिव दुर्गा बस्नेत, प्रचार सचिव सोमराज सोनार ,बीटीसी क्षेत्रीय समिति आग्सुका सभापति रोहित दाहाल, मूल–सचिव राजु सुवेदी लगायत विभिन्न जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारी, पूर्व पदाधिकारी, सामाजिक संघ–संस्थाका प्रतिनिधि, पत्रकार तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
१९ औं द्वि–वार्षिक अधिवेशनको अवसरमा प्रकाशित ‘दृष्टिकोण’ नामक स्मारिकाको विमोचन गरिएको थियो। मिति ४ जनवरीको साँझ आयोजित सांस्कृतिक कार्यक्रममा दार्जिलिङकी चर्चित गायिका विमोचना लम्जेलको सुमधुर गायनले सम्पूर्ण उल्टापानी क्षेत्र गुञ्जायमान बनेको थियो। साथै, विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका स्थानीय व्यक्तित्वहरूलाई सम्मान–पत्र प्रदान गरी अखिल असम गोर्खा छात्र संघ, कोक्राझार जिल्ला समितिले सम्मान तथा अभिनन्दन गरेको थियो।
यसरी, केन्द्रीय सभापति सुनिल छेत्रीको सशक्त नेतृत्व, स्पष्ट मार्गदर्शन र प्रेरणासहित सम्पन्न भएको यो आम सभाले अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समितिलाई नयाँ ऊर्जा, स्पष्ट दिशा र थप जिम्मेवारीका साथ अघि बढ्न प्रेरित गरेको छ।
प्रतिवेदन: भुवन पौडेल-सचिव, कोक्राझार जिल्ला समिति (आग्सु)

📤 Share this story
← First Story in Issue
Scroll to Top