All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #50
•
October 1, 2026

आग्सु टकौंउबारी आञ्चलिक समिति पुनर्गठन, राजु पोख्रेल सभापति र प्रकाश मास्के मूल–सचिवमा चयन

📅 October 1, 2026
✍️ AAGSU
🕒 12:06 AM

टकौंउबारी, २९ सेप्टेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) विश्वनाथ जिल्ला समिति अन्तर्गत टकौंउबारी पञ्चायत भवनमा मंगलबार सम्पन्न सभाले टकौंउबारी आञ्चलिक समितिको पुनर्गठन गरेको छ। सभाले आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा श्री राजु पोख्रेललाई सभापति र श्री प्रकाश मास्केलाई मूल–सचिव पदमा चयन गरेको छ।

आग्सु विश्वनाथ जिल्ला समितिका भारप्राप्त सभापति श्री तरुण उपाध्यायको उपस्थितिमा सम्पन्न सभामा असम गोर्खा सम्मेलन, गोहपूर जिल्ला समितिका मूल–सचिव तथा समाजसेवी श्री जय दाहालको विशेष आतिथ्य रहेको थियो। उहाँले वर्तमान समयमा विद्यार्थी संगठनको भूमिका, सांगठनिक आवश्यकता तथा स्थानीय जनसमस्याका सम्भावित समाधानका विषयमा मार्गदर्शनमूलक मन्तव्य राख्नुभएको थियो।

सभामा पर्यवेक्षकका रूपमा जिल्ला क्रीडा सचिव चिन्मए रिजाल तथा जिल्ला कार्यकारिणी सदस्य पंकज भराली उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी जिल्ला सदस्य विजय क्षेत्री, कारिविल आञ्चलिक सचिव विवेक उप्रेती, मुख्य सल्लाहकार कमल भट्टराई लगायतका व्यक्तिहरूले नवगठित समितिलाई सांगठनिक नीति, उद्देश्य र जिम्मेवारीअनुरूप अघि बढ्न शुभकामना तथा सुझाव दिनुभएको थियो।

नवनिर्वाचित नेतृत्वले टकौंउबारी क्षेत्रमा आग्सुको सांगठनिक गतिविधि विस्तार गर्दै विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको हितमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। समितिले संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय स्तरमा विद्यार्थी तथा समुदायसँग समन्वय र सहकार्यलाई प्राथमिकता दिने जनाएको छ।

अन्त्यमा सभामा उपस्थित अतिथि, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै सभा सम्पन्न भएको थियो।

प्रतिवेदक : तरुण उपाध्याय, भारप्राप्त सभापति, विश्वनाथ जिल्ला समिति

📤 Share this story
Scroll to Top