All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #1
October 23, 2025

बोकाजानमा जुबिन गार्गको न्यायको मागमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) कार्बि आङलङ जिल्ला समितिको सक्रिय सहभागिता

📅 October 23, 2025
✍️ AAGSU
🕒 12:10 AM

बोकाजान, १९ अक्टोबर २०२५ (आईतबार): असमका जनप्रिय गायक, सांस्कृतिक प्रतीक र जनताको मुटुको धड्कन मानिने स्वर्गीय जुबिन गार्गको असामयिक र रहस्यमय निधनले असम राज्यभर शोकको छाया मात्र होइन, गहिरो असन्तोष र आक्रोश पनि पैदा गरेको छ। जनताको भावनात्मक सम्बन्ध बोकेका जुबिन गार्गको मृत्युको सत्य उजागर गर्न र दोषीमाथि कठोर कानूनी कारबाही सुनिश्चित गर्न माग राख्दै आज असम जातियतावादी युवा-छात्र परिषद (AJYCP) कार्बि आङलङ जिल्ला समितिद्वारा बोकाजानस्थित C.C.I. प्राङ्गणमा एक विशाल विरोध सभा तथा प्रदर्शन कार्यक्रम आयोजना गरिएको थियो।

उक्त विरोध कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (AAGSU) कार्बि आङलङ जिल्ला समितिको एक टोलीले पनि सक्रिय रूपमा सहभागिता जनाउँदै जनताको आवाजलाई साथ दिएको थियो। कार्यक्रममा AAGSU का केन्द्रीय समितिका सह-मुखपात्र सचिव श्री महेश शर्मा, कार्बि आङलङ जिल्ला समितिका सभापति श्री नारायण छेत्री, तथा केन्द्र बोकाजान आञ्चलिक समितिका सभापति श्री राजेश घिसिङ उपस्थित रहँदै न्यायको मागमा ऐक्यबद्धता जनाएका थिए।

कार्यक्रमका क्रममा वक्ताहरूले जुबिन गार्गको योगदानलाई स्मरण गर्दै उनलाई असमको संगीत र संस्कृतिको आत्मा भनेका थिए। उनीहरूले यस्तो महान कलाकारको मृत्यु केवल परिवार र साथीहरूकै लागि होइन, समग्र असमवासीका लागि अपूरणीय क्षति भएको टिप्पणी गरे। वक्ताहरूले सरकारलाई गम्भीर रूपमा घटनाको निष्पक्ष छानबिन गर्न, घटनामा संलग्न सम्भावित व्यक्तिहरूलाई सार्वजनिक गर्न र न्याय सुनिश्चित गर्न उच्चस्तरीय अनुसन्धान समिति गठनको तत्काल पहल गर्न आग्रह गरे।

अखिल असम गोर्खा छात्र संघ (AAGSU) कार्बि आङलङ जिल्ला समितिले पनि प्रेस वक्तव्यमार्फत भनेको छ —“जुबिन गार्गजस्ता महान कलाकारहरू हाम्रो समाजका गौरव हुन्। तिनीहरूको सम्मान र सुरक्षामा राज्य असफल देखिनु अत्यन्त चिन्ताजनक विषय हो। यस घटनाको सत्य उजागर र दोषीमाथि कठोर कानूनी कारबाही नभएसम्म हाम्रो संघ लोकतान्त्रिक आन्दोलन र जनचेतना अभिवृद्धिको माध्यमबाट न्यायको पक्षमा आवाज उठाइरहनेछ।”

यस विरोध कार्यक्रममा असमका विभिन्न सामाजिक, सांस्कृतिक र विद्यार्थी संगठनहरूका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। सबैले एउटै स्वरमा भने —
“जुबिन गार्गका लागि न्याय — असमका जनताको माग।”

कार्यक्रमको अन्त्यमा उपस्थित सहभागीहरूले दिवंगत कलाकारप्रति मौन श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चीरशान्तिको कामना गरे र न्याय प्राप्त नभएसम्म आन्दोलन निरन्तर चलाउने दृढ संकल्प व्यक्त गरे।

📤 Share this story
Scroll to Top