All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #14
January 22, 2026

आग्सु, आम्रेङ–कपिली आञ्चलिक समितिद्वारा आत्मीय विदाई कार्यक्रम सम्पन्न

📅 January 22, 2026
✍️ AAGSU
🕒 12:06 AM

आम्रेङ–कपिली,जनवरी २० : अखिल असम गोर्खा छात्र संघ (आग्सु) आम्रेङ–कपिली आञ्चलिक समितिको आयोजनामा गत १८ जनवरी २०२६ का दिन एक आत्मीय तथा सम्मानपूर्ण विदाई कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा समितिका प्रिय र सक्रिय सहकर्मीहरू खेम छेत्री ज्यू तथा श्री अभिनाश राई ज्यूलाई सम्मानपूर्वक विदाई प्रदान गरियो।
कार्यक्रमको सुरुआत संगठनको उद्देश्य, एकता र अनुशासनलाई स्मरण गर्दै गरिएको थियो। आग्सु आम्रेङ–कपिली आञ्चलिक समितिसँग लामो समयदेखि आबद्ध रहँदै आएका खेम छेत्री ज्यूले संगठनलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गरियो। हालै उहाँले ग्रेड–४ मा नियुक्ति प्राप्त गर्नुभएको सुखद अवसरमा समितिको तर्फबाट हार्दिक शुभेच्छा व्यक्त गर्दै, उहाँको नयाँ जिम्मेवारीमा सफलता, प्रगति र उज्ज्वल भविष्यको कामना गरियो। संगठनप्रतिको उहाँको निष्ठा, इमानदारी र सेवाभाव सधैं प्रेरणादायी रहने वक्ताहरूले उल्लेख गरे।
त्यसैगरी, समितिका अत्यन्त सक्रिय तथा लोकप्रिय सहकर्मी सक्रिय प्रचार सचिव श्री अभिनाश राई ज्यूलाई पनि विशेष सम्मानका साथ विदाई गरियो। संगठनका कार्यक्रमहरूलाई जनस्तरसम्म पुर्‍याउन उहाँले खेलेको भूमिका प्रशंसनीय रहेको वक्ताहरूले बताए। प्रचार–प्रसार, संगठनात्मक गतिविधि र सहकार्यमा उहाँको योगदान आग्सु आम्रेङ–कपिली आञ्चलिक समितिको इतिहासमा सदैव स्मरणीय रहने धारणा व्यक्त गरियो। उहाँसँग बिताएका अनुभव, संघर्ष र उपलब्धिहरू समिति परिवारका लागि अमूल्य रहेको समेत उल्लेख गरियो।
कार्यक्रममा उपस्थित पदाधिकारी तथा सदस्यहरूले दुवै सहकर्मीप्रति आभार व्यक्त गर्दै, संगठनसँग जोडिँदा देखाएको समर्पण, जिम्मेवारीबोध र अनुशासनको खुलेर प्रशंसा गरे। साथै, आग्सु केवल एउटा संगठन मात्र नभई एउटा परिवार भएको र जहाँ रहे पनि संगठनको भावना र लक्ष्यलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने सन्देश दिइयो।
कार्यक्रमको अन्त्यमा दुवै सहकर्मीको आगामी जीवन यात्रा सफल, सार्थक र उपलब्धिमूलक रहोस् भन्ने सामूहिक शुभकामना व्यक्त गरियो। आग्सु आम्रेङ–कपिली आञ्चलिक समिति परिवारले उहाँहरूको योगदानप्रति सम्मान प्रकट गर्दै, भविष्यमा पनि सामाजिक तथा राष्ट्रनिर्माणका कार्यमा सक्रिय रहन प्रेरणा व्यक्त गरेको छ।
यस किसिमका कार्यक्रमहरूले संगठनभित्रको आपसी आत्मीयता, एकता र सम्मानको संस्कारलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
प्रतिवेदन: रोशन शर्मा
सभापति, आम्रेङ–कपिली आञ्चलिक समिति (आग्सु)

📤 Share this story
Scroll to Top