
जेंखा, ०४ अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ (आगसु), आम्रेङ्–कपिली आञ्चलिक समिति (AKRC) को दोस्रो कार्यकारिणी बैठक तथा प्रथम भौतिक कार्यकारिणी बैठक ०४ अक्टोबर २०२६ का दिन जेंखा तेन्जिङ क्लबमा सफलतापूर्वक सम्पन्न भएको छ।
समितिका सभापति श्री Mukut Sharma को अध्यक्षतामा सम्पन्न बैठकमा संगठनको वर्तमान सांगठनिक अवस्था, विभिन्न विभागका कार्ययोजना, वार्षिक कार्ययोजना, आगामी संगठनात्मक कार्यक्रम तथा संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै पदाधिकारी तथा कार्यसमिति सदस्यहरूबाट प्राप्त सुझावहरूलाई समेत समेट्दै आगामी कार्यदिशाबारे आवश्यक निर्णयहरू गरिएको थियो।
बैठकले सांगठनिक आवश्यकता र कार्यक्षमताका आधारमा श्री Akash Chetry (घिमिरे) लाई उपसभापति, श्री Deepjyoti Sharma तथा सुश्री Binita Karki लाई सहायक महासचिव र श्री Jiten Thapa लाई सहायक शिक्षा सचिव पदमा मनोनयन गरेको छ। यसैगरी हालसम्म कार्यसमिति सदस्यको जिम्मेवारीमा रहनुभएका श्री Bhaskar Chetry लाई वित्त सचिव पदमा जिम्मेवारी उन्नयन गरिएको छ।
बैठककै अवसरमा जेंखा शाखा समितिको पुनर्गठन गर्दै श्री मदन राईलाई सभापति तथा श्री करण सुब्बालाई मूल–सचिव पदमा चयन गरिएको छ।
बैठकमा आगसु पश्चिम कार्बी आङलङ जिल्ला समितिका सहसचिव श्री PG Ajay Ghale Gurung, प्रचार सचिव श्री Nabaraj Subedi Bhardwaj, आगसु केन्द्रीय समितिका उपसभापति श्री Khagendra Thapa, AKRC का उपदेष्टा श्री Chandra Prasad Sharma तथा असम नेपाली साहित्य सभा, जेंखा शाखाका अध्यक्ष श्री छबिलाल शर्माको विशेष उपस्थिति रहेको थियो। साथै AKRC का सभापति, उपसभापति, मूल–सचिवलगायत विभिन्न विभागका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
यस अवसरमा आगसु केन्द्रीय समितिको उपसभापति पदमा निर्वाचित श्री Khagendra Thapa लाई AKRC को तर्फबाट हार्दिक बधाई तथा मंगलमय शुभकामनासहित सम्मान–पत्र प्रदान गरिएको थियो। उहाँले संगठनात्मक गतिविधि, आगामी कार्यदिशा तथा संगठन सुदृढीकरणका विषयमा आवश्यक मार्गदर्शन एवं महत्वपूर्ण सुझाव प्रदान गर्नुभएको थियो।
बैठकले नवनियुक्त तथा जिम्मेवारी उन्नयन भएका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै एकता, सहकार्य र सक्रिय सहभागिताका साथ AKRC लाई अझ सशक्त, व्यवस्थित, अनुशासित तथा प्रभावकारी संगठनका रूपमा अघि बढाउने सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिवेदक : चन्द्र प्रसाद शर्मा, सल्लाहकार-आम्रेङ्–कपिली आञ्चलिक समिति ।